अमेरिका

नेपथ्यसँगै नाचे न्यूयोर्कका नेपाली

न्यूयोर्क, १० असोज ।  यहाँस्थित म्यानहटन सेन्टरमा नेपथ्यले शनिबार आफूलाई प्रस्तुत गरेको छ । सधैँजस्तै घडीको संकेत जसै ४, ३, २, १ गर्दै ० मा अडियो,भुइँबाट स्टेजभरि छरिएको निलो बत्तीले गितारको आवाजसँगै नृत्य सुरुगरेको थियो । गितारको ध्वनी तीब्र हुँदै गएपछि क्रमशः अन्य वाद्ययन्त्रहरु पनि गुञ्जन सुरु भए । र, त्यति नै खेर भित्तामा थुप्रै आमाहरुका तस्बिर लगालग देखापर्न थाल्यो ।

‘सन्तानहरु कहाँ पुग्छन्

खोलाहरु जस्तो

आमा हुनु साह्रै असजिलो छ…

कवि तीर्थ श्रेष्ठद्वारा पहाडको बिम्बमा उभ्याइएको आमालाई नेपथ्यले यसरी संसार डुलेर नेपाली छोराछोरीलाई सुनाउँदै गर्दा सधैँजस्तै अमेरिकाकै सर्वाधिक ब्यस्त क्षेत्रमा रहेको यो हल भावनामा डुबेको थियो । त्यसपछि सदैव श्रोताहरुले मनपराउँदै आएका भेँडाको उनजस्तो हुँदै छेक्यो छेक्यो, लामपाते सुरती, चरि म¥यो बाट कार्यक्रम अघि बढ्दै गयो । जोमसोमे बजारमा गाएर सुनाउनेबित्तिकै ब्याण्डका अगुवा एवं मुख्य गायक अमृतले माहोललाई एकैछिन शान्त बनाएपछि सोधेका थिए, ‘तपाईहरु जोमसोम जानुभएको छ?’ त्यसपछि उनले गीतमा भनिएको बाह्र बजेको हावाले के अर्थ दिन्छ भनेर सम्झाएका थिए । त्यसपछि उनले नेपालका डाँडाकाँडा घुम्दाका अनुभवहरु बाँड्दै त्यस्तै भ्रमणमा जन्मिएको अर्को गीत सालैजो बाट कार्यक्रमलाई अघि बढाएका थिए । ‘लेकको कुहिरो औलै झ¥यो’ भन्दै उनले प्रकृति र हावापानीलाई जोड्ने मध्यपश्चिमबाट संकलित यस गीतको मर्म बुझाए ।

कार्यक्रममा त्यसपछिको पालो थियो नेपथ्यको आगामी अल्बममा समेटिएका बहुचर्चित गीतहरु ‘रामा रामा’ र ‘कोशीको पानी यो जिन्दगानी’ को । कार्यक्रमको बीचैमा उनी एकैछिन फेरि थामिएर दर्शकहरुसँग कुराकानी गर्न थाले । ‘जातपातको अहिलेको दौडादौडमा हामीले हाम्रो राष्ट्रिय पहिचान संकटमा पर्न थालेको विचार गरेका छौं ?’ उनले सबैलाई सोधे, ‘म जहिल्यै आफूलाई सबैभन्दा पहिले गर्वका साथ नेपाली भनेर चिनाउने गर्छु, त्यसपछि मात्र गुरुङ हुन्छु ।’

nepathya

अमृतले यीनै कुराहरुको निरन्तरतामै भने, ‘तपाई नेपाली, म नेपाली, हामी सबै नेपाली हौं’ भनेर नै म सदैव महशुस गर्ने गर्छु । पत्रकार एवं समाजसेवी रविन्द्र मिश्रले आफ्नो त्यही भावनासँग मिल्दोजुल्दो गरि एउटा गीत बनाएर पठाएकोमा असाध्यै खुशी लागेको जानकारी पनि अमृतले न्यूयोर्कका दर्शकहरुलाई बताए । र, अबको पालो थियो नेपथ्यले नै कम्पोज गरेको त्यस गीतको सबैभन्दा पहिलो प्रस्तुती अमेरिकाबाट सुरु गर्ने । ‘लौ हेरौं है तपाईहरुलाई कस्तो लाग्छ?’त्यसपछि अमृतको स्वरमा नेपथ्य ब्याण्ड फेरि घन्किन थाल्यो, ‘तिमी पनि नेपाली, म पनि नेपाली…हामी नेपाली’

रेशम र तालको पानीले फेरि माहोल तताएपछि अमृतले अर्को एकपटक फेरि विश्राम लिएर कुराकानी गर्न चाहे । ‘तपाईहरु यतिबेला विश्वकै केन्द्रमा बसिरहनुभएको छ । सबैको बसोबासको आधार जे जस्तो भए पनि मलाई विश्वास छ तपाईहरु सबै आत्मादेखि नेपाललाई नै माया गरिरहनुभएको छ । आफ्नो मनमा जननी र जन्मभूमिप्रतिको यो प्रेमलाई कहिल्यै कम हुन नदिनु होला,’ उनले आव्हान गरे, ‘हामीले स्वतन्त्रता र लोकतन्त्रका निम्ति लामो लडाईं लड्यौं । तर, दुर्भाग्यवश हामी अहिले पनि भयतन्त्रबाट घेरिएका छौं ।

यो भयतन्त्रबाट मुक्त हुने प्रयासमा लागिरहँदा हाम्रो समाजमा उच्च नैतिक मनोवल भएका केहि व्यक्ति पाउनु शौभाग्य बनेको छ । उनीहरुले गरिरहेको लडाईले हाम्रा वालवालिकाहरु भोलीका दिनमा यस्तो भयतन्त्रबाट मुक्त हुन पाउने छन् ।’ यति भनेपछि अमृतले फेरि दर्शकहरुलाई राणाकालताका एकजना ‘पागल’ भनेरै चिनिएका आदरणीय कवि गोपालप्रसाद रिमालको कृतितर्फ लगे । रिमालको रचना र अम्बर गुरुङको संगीतमा तयार भएको रातो र चन्द्रसूर्जे गुञ्जँदै गर्दा न्यूयोर्कका नेपालीहरुको उत्तेजना चरममा पुगेको थियो ।

nepathya

कार्यक्रम सकिएपछि ब्याण्डका सदस्यहरुले सामुहिक रुपमा दर्शकतर्फ झुक्दै अभिवादन गरे । तर, दर्शक जानै मानेनन् । एकोहोरो ‘वन्स मोर’को आवाज हलमा गुञ्जिरह्यो । त्यसपछि कलाकारहरु फेरि एकपटक मञ्चमा आउन बाध्य भए । त्यसपछि फेरि गाइएको दुईवटामध्ये नेपथ्यको प्रारम्भिक दिनका सम्झना स्वरुप एउटा गीत ‘आँगनै भरि’ पनि सुनाइएको थियो । सामान्यतया नेपथ्यको हरेक शो दुई घन्टाको निम्ति सेट हुने गरेकामा शनिबार भने न्यूयोर्कका दर्शकहरुको चर्को अनुरोधमा साढे दुइ घन्टासम्म कलाकारहरुले विश्राम लिन पाएनन् ।

दर्शकदीर्घामा न्यूयोर्कभन्दा निकै पर बोस्टन र वासिंगटन डिसीदेखि आएका अनुहार पनि देखिन्थे । संयुक्त राष्ट्रसंघको महासभामा टोलीको नेतृत्वगर्दै भाग लिन आएका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र अमेरिकास्थित नेपालका राजदूत अर्जुन कार्की समेत कार्यक्रममा उपस्थित थिए । अक्टोबर १ तारिखका दिन अमेरिकाको ठीक अर्को (पश्चिमी) कुनामा रहेको प्रख्यात सहर सानफ्रान्सिस्कोमा नेपाली लोक रक सुनाउनका निम्ति ब्याण्ड अब त्यसतर्फ लागेको छ ।