अर्थ​

कास्कीमा सुन अभाव: व्यवासायीले बन्द गरे पसल

राष्ट्र बैंकले गरेको असमान वितरणले सुनको अभाव भएको भन्दै कास्कीका व्यवसायी आन्दोलित भएका छन् । सुनचाँदी व्यवसाय सम्बन्धी निर्देशिकाको अभाव, सुनको अभाव र सुनको असमान वितरण भएको भन्दै कास्कीका सुनचाँदी व्यवसायी आन्दोलित भएका हुन् ।

उनीहरुले आज र भोलि कास्कीका सबै सुनचाँदी पसल बन्द गरेर व्यवसायीले आन्दोलन गरेका छन् ।

व्यवसायीहरुले वर्षौंदेखि सुनको आयातमा लगाइएको कोटा बढाउन माग गर्दै आएको छ । तर, सरकारले सुनुवाइ नगरेको उनीहरुको दुखेसो छ । राष्ट्र बैंकले सुनको माग र आपूर्तिको व्यवस्थापन गर्न नसकेको सुन चाँदी रत्न तथा आभूषण व्यवसायी संघका अध्यक्ष किसान सुनार बताए ।

कुनै पनि सामग्री उत्पादनका लागि कच्चा पदार्थ चाहिन्छ । गरगहनाको कच्चा पदार्थ सुन हो । तर, यहाँ माग अनुसारको सुन नपाइएका सुनार बताउँछन् । जसका कारण सिजनको बेलासमेत अभाव हुँदा व्यवसायीलाई मर्का परेको उनीहरुको भनाइ छ ।

राज्यले दैनिक सुन वितरणको कोटालाई कम्तीमा पनि दोब्बर बनाउनैपर्ने व्यवसायीको माग छ ।

कास्कीमा दैनिक ४ किलो सुनको माग छ । तर, राष्ट्र बैंकले हप्तामा जम्मा ३ किलोमात्रै उपलब्ध गराउँछ । नेपाल राष्ट्र बैंकले दैनिक २० किलो सुन उपलब्ध गराउँछ । त्यसमा राजधानीका ३ जिल्लालाई ६० प्रतिशत र बाँकी सबै जिल्लाका लागि ४० प्रतिशत सुन वितरण हुन्छ । असमान वितरणको अन्त्य गर्न व्यवसायीले माग गरेका छन् ।

कोटा प्रणाली अन्तर्गत नेपाल राष्ट्र बैंकद्वारा उपलब्ध गराइने सुन १ केजीको परिणाममा मात्र रहेको हुँदा व्यवसायीहरुलाई असहज भएको भन्दै ५० ग्राम, १ सय ग्राम र ५ ग्रामको परिणाममा समेत सहजै सुन उपलब्ध गराउन माग गरिएको छ । ‘झिटी गुन्टामार्फत आउने सय ग्राम सुनमा साबिककै अवस्था अनुरुप व्यवस्था गरियोस्,’ व्यवसायीको माग छ, ‘नेपाल राष्ट्र बैंकले सुन आपूर्तिमा लगाएको सिन्डिकेट अन्त गरियोस् ।’

सुनचाँदी व्यवसायी संघ कास्की र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीको संयुक्त बैठकले भदौ १० र ११ गते कास्कीमा सुनचाँदी व्यवसाय बन्द गर्ने निर्णय भएको हो ।
चाडपर्वको समयमा सुन अभावका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउनु दुःखद भएको उनीहरुको भनाइ छ ।

‘मापदण्ड तथा निर्देशिका चाँडो देऊ सरकार’

सरकारले बेलाबेला सुनचाँदी पसलमा छापा मार्छ तर बिना मापदण्ड । सरकारले सुनचाँदी व्यवसाय मापदण्ड तथा निर्देशका नबनाई अनुगमन गर्न नदिने व्यवसायीको विरोधपछि पछिल्लो समय अनुगमनसमेत ठप्प छ ।

सुनचाँदी व्यवसायीले छिटोभन्दा छिटो मापदण्ड तथा निर्देशिका ल्याउन माग गरेका छन् । सरकारले सुनचाँदी मापदण्ड तथा निर्देशिका जारी नगर्दा उपभोक्ता समेत ठगिने गरेका छन् ।

‘सरकारले अनुगमन गर्छ तर के हो र कस्तो हो तनि मापदण्ड भन्ने नै छैन । हस्तकला महासंघले खरिद गरेको चाँदीको गुणस्तर जाँज्ने एउटा पुरानो मेसिनले सरकार सुनको गुणस्तर हेर्छ,’ सुनचाँदी व्यवसायी संघ कास्कीका कार्यवाहक अध्यक्ष भविन्द्र विश्वकर्माले भने, ‘सरकारको पुरानो मेसिनले सही माप गर्दैन र अनुगमन गरेर लिएर गएको सुनचाँदी मापन गर्दा व्यवसायीलाई सहभागी गराउनु पर्छ ।’

२०७० वैशाख १३ गते सरकार र व्यवसायीबीच १५ दिनभित्र निर्देशिका बनाउने सहमति भएको थियो । तर, सरकारले अहिलेसम्म निर्देशिका नल्याएको व्यवसायीको भनाइ छ । सरकार आफैंले निर्देशिका जारी गरेर नियमन गर्नुपर्नेमा व्यवसायीले माग राखेर आन्दोलन नै गर्नुपर्ने अवस्था आउनु दुखद भएको उनले बताए ।

‘सुनचाँदी तथा गरगहना व्यवसायसँग सम्बन्धित मापदण्ड निर्देशिका चाँडोभन्दा चाहियो,’ आभुषण व्यवसायी संघका अध्यक्ष किसान सुनारले भने, ‘व्यवसाय सञ्चालन निर्देशिका आउन नसक्दा व्यवसायीले सास्ती खेप्नु परेको छ ।’

Post Comment