विचार

बेरोजगार युवा अनि गरिबी :के अब पनि भाषण र प्रतिबद्धताको ललिपपमा भुल्ने हो त हामी ?

शान्ति प्रकृयापछि नेपाली जनताले धेरै पटक नङमा निलो मसि लगाए । थुप्रै सपना बांडिए थुप्रै सरकार बने तर आज एक दशक पार गरिरहंदा देश उन्नती हैन अझै अवनति तर्फ धकेलिएको छ । रोजगारीको समस्या व्याप्त छ कयौं दक्ष जनशक्ति बाहिरिएका छन् अनि तिनिहरुकै रेमिट्यान्सले देश चलिरहेको छ । करिब ६० प्रतिशत घरमारेमिट्यान्स भित्रिरहेको छ । कुल ग्राहस्थ उत्पादनको ३० प्रतिशतको हाराहारीमा रेमिट्यान्स रहेको छ ।

आज सम्म बनेका कुनैपनि सरकारले देशमा नयाँ रोजगारीको सिर्जना गर्ने महौल तयार समेत पार्न सकेनन् । संद्यिय लोकतान्त्रिक गणतन्त्र नेपाल पछि शेरबहादुर देउवा सम्म आइपुग्दा दशबटा सरकार बनेका छन् । यसबिचमा भएका सबै चुनावमा यिनै अनुहारहरुले देश समृद्ध बनाउने भन्दै जनतासंग भोट माग्दै आइरहेका छन् ।

स्थानिय निकायको निर्वाचन पछि संद्य र प्रदेशको चुनाव अघिको यो महौलामा राजनितिक दल अनि तिनका नेताहरु नेपाललाई बिकसित होइन अति बिकसित मुलक बनाउँछौ भन्दै जनतामा सपना बाडिरहेका छन् बहुमत अनि दुइतिहाइ ल्याउने भन्दै गठबन्धन बनाइरहेका छन् । अहिले बनिरहेका गठबन्धन साच्चिकै नेपाल अनि नेपालीका लागि हो या अहिले सम्म चलिआएको भागबण्डको राजनितिको लागि हो यसबारे जनता सचेत बन्न जरुरी छ ।

नेपालमा बार्षिक ५ लाख युवा बेरोजगार बन्ने गरेका छन् । सरकारले ल्याउने युवामुखि कार्यक्रम प्रभावकारी बन्न सकिरहेका छैनन् । ग्रामिण क्षेत्रमा रहेको बेरोजगारी गरिबिको मुख्य कारण हो । ग्रामिण तह सम्म युवाहरु लाई व्यबासायिक सिप तालिम,कृषिमा आधुनिकिकरण,साना तथा मझौला उद्योगहरुको बिकास गर्ने जस्ता उत्पादन मुलक कार्यमा युवाहरुलाई आर्कषित गर्न सक्नुपर्दछ । युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकका रुपमा विकसित हुने अवसर राज्यले प्रदान गर्नुपर्दछ । अधिकांश युवाहरु सहरमुखि बनिरहेका छन् जसकारण पनि बेरोजगारीको संख्या बढ्दो छ । देशमा बेरोजगारीको संख्या बढ्दै जाँदा सरकार फ्रि भिसा फ्रि टिकट लागु गर्ने तर्फ अग्रसर बन्नु दुखद हो । बिदेश जाने युवा शक्तिलाई सरकार नै प्रोत्सहान गरिरहेको छ । यसले रेमिट्यान्स भित्राएपनि देश बिकास सम्भव छैन ।

बेरोजगारीलाई अन्त्य गर्दै देश बिकासका लागि भाषण भन्दा पनि दिर्घकालिन योजना र त्यसको सही कार्यन्वयन आवश्यक छ । लागु भएका योजनालाई प्रभावकारी बनाउँदै ग्रामिण तह सम्म पुर्याउन सक्नुपर्दछ ।
अब बन्ने सरकारले बिकासका आयामहरु ल्याउँछ भन्ने जनताको अपेक्षा छ । त्यसो त जनतामा भयंकर सपना बाडेर देशलाई कयापलट गराउँछौं भन्ने नेता अनि दलले त्यसपछि गरेका काम र अवस्थाको जनतालाई अनुभव भैसकेको छ।

२०७२/७३ मा नेपालको आर्थिक बृद्धिदर ०.७७ प्रतिशत छ । यो निकै नकरात्मक अवस्था हो । बिकसित राष्ट्र बन्नका लागी ८ प्रतिशत भन्दा बढिको आर्थिक बृद्धिदर आवश्यक रहन्छ । यति धेरै अन्तरमा रहेको आर्थिक बृद्धिदर ५ बर्षमा ह्वात्तै बढ्छ भनेर बिश्वास गर्ने आधार के छ ? बहुमत पाएका दलहरुले बिकसित राष्ट्र बनाउने छन् भनेर ढुक्क बन्नलाई योजना के छन ?के भाषण र प्रतिबद्धताको ललिपपमा भुल्ने हो त हामी ?

हामी दुइ ठूला राष्ट्र चीन र भारतको बिचमा रहेका छौं । अहिले करिब २ करोड ६० लाख भारतीय नागरिक नियमित रोजगारीको खोजीमा छन् भने चीनमा बर्षेनि १ करोड नागरिक गरिविबाट मुक्त भैरहेका छन् ।
यही अबस्थामा सन् २०३० सम्ममा भारतमा १ करोड २० लाख नागरिक रोजगारबाट बन्चित हुनेछन् भने सन् २०२० सम्ममा चीनले गरिबी पूर्ण रुपमा उन्मुलन गर्ने छ । सन् २०२० सम्ममा करिब ७० मिलियन चीनीयाँ नागरिक गरिबीबाट मुक्त हुनेछन् ।

भारतमा नरेन्द्र मोदीको उदय पछि नागरिकले देखेका सपनाहरु अहिले स्वयर कल्पनाका बिम्ब बनेका छन् । भाषण गर्न माहिर मोदीले सन् २०१३ को चुनावी अभियानमा बर्षेनि १ करोडलाई रोजगारी सिर्जना गर्ने घोषणा गरेका थिए , बहुमतको सरकार चलाइरहेका मोदीले आफ्नो घोषणा पुरा गर्न सकेनन् ।

उता सन् २०१२ नोभेम्बर मा चीनीयाँ सरकारको नेतृत्व सम्हालेका सि जिन पिङको सरकार ५ बर्ष पुग्नै लाग्दा चीनले धेरै फड्को मारेको छ चाहे आर्थिक बृद्धिदर होस् या प्राविधिक उन्नती ।

चीनले मारेको बिकासको फड्को यसै सम्भव भएको हैन । त्यसो त चीनमा पनि बिभिन्न तहका गरिबी रहेका छन् । र पनि जनताको कडा मेहनत, राज्यको उत्कृष्ठ नितिका कारण यो सबै सम्भव भएको छ । आज चीनीयाँ संस्कृति, आन्तिरक पर्यटन , व्यवसायिक कृषि कै कारण कयौं चीनीयाँ नागरिकहरु गरिबिको बन्धनबाट मुक्त भएका छन् । जिम्मेवार निकायहरु जवाफदेहि बन्दै उत्तिकै सक्रिय बनेका छन् । सरकारले सही निति लिएर जनतालाई उत्साहित मात्रै बनाउन सकेपनि केहि बर्षमै कायापलट गर्न सम्भव छ भन्ने उदाहरण चीनीयाँ सरकार र चीनीयाँ नागरिकहरुले देखाएका छन् ।

भारतमा रोजगारी ठूलो समस्याको रुपमा खडा भएको छ । यो अबस्था भारत स्वतन्त्र बनेपछि पहिलो पटक आएको हो । भारतको करिब आधा जनसंख्या कृषिमा निर्भर रहेको छ तिनै कृषक आज उत्पादन नभएर मात्रै हैन उत्पादित बस्तुले सही मूल्य नपाउँदा कृषिबाट टाढा भैरहेका छन् । यहि अबस्था अहिले नेपालमा पनि छ । अनि कसरी सम्भव छ आर्थिक समृद्धि ?कसरी सम्भव नयाँ रोजगारी ?कसरी बन्छ बिकसित राष्ट्र ?

भाषणमा ठूला ठूला योजना र सपना बाड्ने हाम्रा नेताहरुले दुइ छिमेकी मुलुकको पछिल्लो ५ बर्षलाई गहन रुपमा अध्ययन गर्दा हुन्छ ।

अब पनि दलिय स्वार्थ र व्यक्तिगत स्वार्थलाइ त्यागेर दिर्घकालिन निति बनाएर त्यसको कार्यन्वयन तर्फ अगाडी नबढ्ने हो भने बिकास अनि समृद्धि नेपालीहरुका लागि सपना नै रहने छन् ।
नेपालको स्वाभिमान भाषणले हैन काम र प्रगतिले उचो बनाउने दिन कहिले आउँछ । कहिले सम्म नालापानीको बिजयलाई स्वाभिमानको भजन बनाउने । सधै बिगतका गाथा गाएर कहिले हामि अगाडी बढ्छौं । नेपालले प्रबिधिमा गरेको नौलो अभ्यास , आर्थिक समृद्धिमा मारेको फड्कोले बिश्व सामु स्वाभिमान उच्च बनाउने तर्फ लागौं ।

भष्ट्रचार , चाकडी , नातावादलाई संरक्षण गर्ने हाम्रो राजनितिको संस्कार फेरिन आवश्यक छ । देशमा चुनावी माहौल तातिरहंदा यि विषयहरुमा मतदाता पनि गहन बन्न आवश्यक छ । प्रदेश र संद्यको चुनावमा जनताले दिएको मतले बनेको सरकार र त्यसको नेतृत्व सि जिन पिङ बन्ने छ या नरेन्द्र मोदी त्यो हेर्न बाँकी छ ।

Post Comment