स्वास्थ्य

अमेरिकामा गरिब बिरामी: अन्तिम अवस्थामा मात्र अस्पताल पुग्छन्

डा दिनेश सुवेदी हाल अमेरिकास्थित स्टेट युनिभर्सिटी अफ न्युयोर्कमा कार्यरत छन् । उनी सन् २००५ मा अमेरिका गएका हुन् । महाराजगञ्जस्थित त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) बाट एमबिबिएस अध्ययन सकेपछि थप अध्ययनका लागि उनी अमेरिका पुगे । हालै उनी नेपाल आएकाबेला स्वास्थ्यखबरलाई आफ्नो अनुभव यसरी सुनाएः

अध्ययनका लागि अमेरिका पुगेको पहिलो वर्ष निकै दुःख भयो । नयाँ ठाँउ, नयाँ कुरा अनि नयाँ प्रणालीले गर्दा सहजै घुलमिल हुन सकिएन । त्यसमाथि आवासीय चिकित्सकको दुःख । हुन त आवासीय चिकित्सकले जहाँ गए पनि दुःखै गर्नुपर्छ । रातदिन नभनी ड्युटीमा खटिनुपर्छ ।

इन्टरनल मेडिसिनमा एमडीको अध्ययनका क्रममा दोस्रो वर्षबाट भने सहज हुँदै गयो । पढाइ सकेर काम गर्न थालेपछि भने जीवनको पैयाँ सजिलै गुड्न थाल्यो । हामी बसेको ठाउँमा अहिले २५ जना जति नेपाली डाक्टर नै छौं । मेरी श्रीमती पनि डाक्टर नै भएकाले हामीलाई काम गर्न र बस्न कुनै कठिनाइ भएन ।

अस्पतालमा अहिले म इनप्यासेन्ट मेडिसिन अर्थात् भर्ना भएका बिरामीलाई उपचार गर्ने काम गरिरहेको छु । अस्पतालमा भर्ना भएका बिरामी कोही छोटो र कोही लामो समयसम्म पनि बसिरहनुपर्ने हुन्छ । त्यसकारण हरेक बिरामीलाई खुसी बनाउन सक्नुपर्छ । क्लिनिकल केयरलाई कस्टुमर केयर पनि भन्ने गरिन्छ । किनभने अस्पतालका कस्टुमर भनेको बिरामी नै हो । उनीहरुलाई गुणस्तरीय र सहज उपचार सेवा दिएर सन्तुष्ट बनाउनु हाम्रो काम हो ।

नेपाल होस् वा अमेरिका जहाँका बिरामीको चाहना पनि आफूलाई लागेको रोग छिटो निको होस् र छिट्टै स्वस्थ जीवनमा फर्किन पाइयोस् भन्ने नै हुन्छ । डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीले पनि उनीहरुलाई आफ्नै परिवारको सदस्यझैँ उपचार र हेरचाह गरिरहेका हुन्छन् । स्वास्थ्य सेवामा प्रविधि, सुविधा, पूर्वाधारका हिसाबले अमेरिका अगाडि छ । अमेरिका र नेपाललाई तुलना गर्न मिल्दैन । तर, संसारभरि नै डाक्टरको प्रमुख प्राथमिकता भनेकै बिरामीको उचित उपचार र हेरचाह गर्नु हो ।

डाक्टरले बिरामीलाई सन्तुष्ट बनाउने प्रयास जहाँ भए पनि गर्नैपर्छ । मैले देखे अनुसार नेपालका कतिपय अस्पतालमा बिरामीलाई धेरै समय नदिने, झर्केर बोल्ने, आँखा जुधाएर कुराकानी गर्ने फुर्सद नै नहुने अवस्था छ । सबै ठाउँमा यो समस्या छैन तर, यो तितो यथार्थ हो । हुन त यहाँ सेवा सुविधा राम्रो नभएको र एउटा डाक्टरले २–३ वटा अस्पतालमा सेवा दिनुपर्ने भएकाले समय मिलाउन नसकेको पनि हुनसक्छ । यो समस्या समाधान गर्न सरकार, निजी क्षेत्र तथा अन्य सरोकारवालाले आवश्यक कदम चाल्नुपर्छ ।

अमेरिकामा उपचारको निश्चित प्रणाली छ । त्यो प्रणालीबाट बाहिर कोही जान पाउँदैन । बिरामीले यो वा त्यो डाक्टरलाई नै देखाउँछु, यहाँ भएन अर्को अस्पतालमा जान्छु भनेर छान्दै हिँड्न पाउँदैनन् । आफ्नो घर नजिकको अस्पतालमा उसले उपचार गराउनुपर्छ । आकस्मिक अवस्थामा जहाँ पनि उपचार पाउँछन् । तर, अन्य अवस्थामा अस्पतालभित्र छिरेपछि सबै बिरामीले समान उपचार पाउँछन् ।
अस्पतालमा बिरामी पुग्दा जो डाक्टरलाई ‘असाइन’ हुन्छ, उसले मात्र हेर्ने हुन्छ ।

बिरामीले अस्पताल तथा डाक्टर परिवर्तन गर्न चाह्यो भने स्पष्ट कारण देखाउनुपर्छ । जुन निकै झन्झटिलो हुनेगर्छ । हामीलाई दैनिक कति बिरामी, कस्तो अवस्थाका, को–को डिस्चार्ज हुँदै र कति भर्ना भए भन्ने जानकारी मोबाइल एपमा हरेक दिन आउँछ । यसले डाक्टरलाई काम गर्न निकै सहज बनाउँछ ।

स्वास्थ्य क्षेत्रमा अमेरिकाको कतिपय कुरा राम्रा छन् तर कतिपय प्रक्रिया अप्ठ्यारा र झन्झटिला पनि छन् । नेपालमा अहिले स्वास्थ्य बीमा कार्यक्रम सुरु हुँदैछ । यो समयमा नेपालले अमेरिकाका धेरै राम्रा कुरा लिनसक्छ । उपचारको एकरुपता, गुणस्तरीय सेवा, प्रणाली बसाल्ने कुरामा नेपालले सिक्न सक्छ । तर, हुबहू लागू गर्न खोज्दा भने समस्या आउँछ ।

बाहिरबाट हेर्दा अमेरिकामा सबै धनी होलान् जस्तो लाग्छ । तर, अमेरिकामा पनि गरिब जनता उत्तिकै छन् । गरिबीका कारण उपचारमा नआउने र अन्तिम अवस्थामा आउने पनि धेरै हुन्छन् ।

मैले नेपालको आइओएममा पढ्दा र काम गर्दा घाँटीमा स्याउँस्याउँ किरा परेको बिरामी एक जना मात्र देखेको थिएँ । तर, अमेरिकामा ६ महिनाको अन्तरालमा त्यस्ता बिरामी एक जना भेटिन्छन् । नेपालभन्दा बढी अमेरिकाका गरिब बिरामी बेलैमा उपचारको पहुँचमा नआएर अन्तिम अवस्थामा अस्पताल पुग्छन् । यो सायद अमेरिकाको स्वास्थ्य प्रणालीको एउटा असफलता पनि हो ।

नेपालमा भन्दा अमेरिकामा गरिब र धनीबीचको अन्तर अत्यन्तै ठूलो छ । त्यो उपचारमा पनि देखिन्छ । त्यहाँ बीमाको व्यवस्था त छ, तर उनीहरुको प्रणालीमा कहीँ न कहीँ समस्या भएकै कारण यस्ता बिरामी धेरै भेटिएका हुन् । नेपालले प्रणाली बसाल्ने समयमा अमेरिकाले भोगेका वा अन्य देशले भोगिरहेका यस्ता समस्यालाई हटाउन सक्छ ।

Post Comment