जनसरोकार

अर्गानिक बन्दैछ -छथरको अकबरे खुर्सानी

तेह्रथुम -छथर गाउँपालिकामा उत्पादन भएको अकबरे खुर्सानी यहाँको कोसेलीको रुपमा परिचित बनेको छ ।

यहाँ आएर फर्किने तथा देश विदेशमा रहनेले अकबरे खुर्सानी र यसका परिकारलाई कोसेलीको रुपमा प्रयोग गर्न थालेका हुन् । कृषकले व्यावसायिक रुपमा अकबरेखेती गर्न थालेपछि स्थानीयस्तरमै यसका विभिन्न परिकारसमेत तयार भइरहेका छन् ।

केहीवर्ष अघिसम्म आफ्नै लागि किनेर खुर्सानी प्रयोग गर्ने किसानले अहिले व्यावसायिक खेती गर्दै यही पेशाबाट जीविकोपार्जन गरिरहेका छन् । अहिले यहाँ आउने आगन्तुकले फर्किर्नबेला खोजी गर्ने कोसेलीमा सबैभन्दा धेरैले अकबरे खुर्सानीको खोजी गर्छन् ।

चाडपर्व तथा विभिन्न काम विशेषमा छथर आउने जानेले कोसेलीको रुपमा अकबरे खुर्सानीको अचार लैजाने चलन बढेको छथर गाउँपालिका–६, सुदापकी कृषक शिवमाया खड्काले बताउनुभयो । रासायनिक विषादी र मल प्रयोग नगरी किसानले उत्पादन गरेको अग्र्यानिक अकबरे खुर्सानी यहाँको अहिलेको सबैभन्दा लोकप्रिय कोसेली बनेको छ ।

यहाँको उत्पादन अग्र्यानिक र व्यावसायिक छ । त्यसैले देश विदेशमा छथरको अकबरे लोकप्रिय बन्न थालेको हो । छथरमा अकबरे खुर्सानीबाट जीविकोपार्जन गर्ने किसानको संख्या वर्षेनी थपिँदै छ । यहाँका अधिकांश किसानलाई व्यावसायिक र अग्र्यानिकखेती गर्न दलित सचेतना समाज नेपालले तालीम र बीउ पुँजी सहयोग गरेको छ ।

Post Comment