जनसरोकार

कस्तो कहालीलाग्दो त्यो १८ घण्टा: यस्तो थियो निशान हराएपछि परिवारको सदस्यको अबस्था

छोरा अपहरणपछि मारिएको दिनदेखि चमेली खड्का पीडामा छिन्।आँशु रोकिएको छैन। आँखाका डिल सुन्निएका छन्। आफन्तका अनुसार ओछ्यान परेकी उनी घरिघरि अर्धचेत हुन्छिन्। बोल्न सकेकी छैनन्। आफन्तको अनुरोधमा बिहान–बेलुका थोरथोरै गिलो भात खान्छिन्।

हुर्किँदै गरेको ११ वर्षको छोरा निशान अपहरणकारीबाट निमोठिए। सोमबारको यो घटनापछि चमेली नजिकै रहेको माइतीघरको रेखदेखमा छिन्।

सिन्धुपाल्चोक रातमाटे घर भएका चमेली, पति गणेश छोराछोरीसहित २०६८ सालमा काठमाडौं आएकी थिइन्। गरिबी झेलिरहेको यो परिवारलाई माइती–ससुराली पक्षले काठमाडौं डोर्‍याएको थियो।

माइतीकै सुझावअनुसार दुबैले काठमाडौं–३५ सिनामंगलमा डेरा लिए। सानो चिया–खाजा पसल खोले। राजधानीको बसाइ, तीन छोराछोरीको भरषपोषण र शिक्षा जसोतसो चलिरहेको थियो। नजिकै माइती भएका कारण चमेलीलाई भर-अभर सहयोग मिल्थ्यो।

लालाबाला हुर्किंदै गएपछि चमेली र गणेशमाथि जिम्मेवारी थपियो। गणेश २०७१ सालमा वैदेशिक रोजगारीमा मलेसिया गए।तीन वर्षको बसाइपछि गणेश २०७४ फागुन महिनामा बिदामा आएका थिए। फेरि चैतको पहिलो साता मलेसिया फर्किए।तीन भाइ छोरामध्ये माइला गणेशको कमाइ खासै गतिलो छैन। तर पनि उनी छोराछोरीको भविष्य खातिर विदेशमा नंग्रा खियाइरहेका छन्।

जेठी छोरी सबिना १० कक्षामा पढ्छिन्। कान्छी नविना विराटनगरस्थित आफन्तको घर बसेर ८ कक्षा पढ्दैछिन्। निशान पाँच वर्षयता काठमाडौं–३५, सीनामंगलकै हाइल्याण्ड अंग्रेजी स्कुल पढ्दैथिए।मामा रामकाजी सापकोटाका अनुसार कक्षा ६ मा पढ्ने निशान ज्ञानी थिए। मीठो खाने, राम्रो लाउने सौख थिएन। जोसँग पनि छिटै मिल्न सक्थे।आमाले खाजा पसल राम्रैसँग चलाइरहेकी थिइन्। डेरासँगै जोडिएको घरमा दिदीका छोराछोरी बस्थे। बा र भाइहरू उनको पसल नपुगेको दिन हुँदैनथ्यो।दुःख–सुखमा रमाइरहेको यो परिवारमा सोमबार बज्रपात पर्‍यो।

अपहरणकारीबाट निशान चुँडिए।

फिरौती माग गरेपछि भान्जाको खोजीमा अनवरत् खटिएका सापकोटा, उनका भाइ पदमबहादुरले बुधबार सेतोपाटीसँग घटनाबारे कुराकानी गरे।
दुई अपहरणकारी पनि प्रहरीले मारेको छ। उनीहरु भिडन्तमा मरे वा प्रहरीले समातेर गैर कानुनी हत्या गर्‍यो भन्ने प्रश्न शुरु भएको छ। त्यो प्रश्न भन्दा टाढा निशानको परिवार प्रहरीले ‘खुनको बदला–खुन’ लिदेकोमा खुसी छन्।निशानका अपहरणकर्ता अजय र गोपाल तामाङ चमेलीसँग लामो समयदेखि परिचित ब्यक्ति थिए।

तामाङद्वय चमेलीको चिया–खाजा पसलमा बाक्लो आउजाउ गर्थे। सापकोटाद्वय पनि उनीहरूसँग राम्रोसँग परिचित थिए। ‘पाँच वर्षजति भएको थियो उनीहरू आउने–जाने गरेको,’ उनीहरूले भने।दाजु–भाइ हौं भन्थे। पेन्टिङ गर्थे। ठिमीमा डेरा थियो। भलादमी स्वभावकै देखिन्थे। आइरहने भएकाले निशानसँग उनीहरू घनिष्ठ भइसकेका थिए।मूलपानीमा चमेलीले तीन आना जग्गा किनेकी रहिछन्। सापकोटाका अनुसार त्यो जग्गा बेचेर कतै किन्ने सोच बनाउँदै थिइन्। यो कुरा तामाङद्वयले थाहा पाएका थिए।

यही कारण उनीहरूले निशानलाई अपहरण गरी फिरौती मागेको अनुमान आफन्तको छ।सापकोटाका अनुसार निशान ४ बजे स्कुलबाट घर आए। त्यही दिन चमेलीले आफ्नो पुरानो मोबाइल बेचेकी थिइन्। यो कुरा पनि तामाङद्वयले थाहा पाएका थिए।स्कुलबाट फर्किएको केही समयमा निशानले ‘नयाँ मोबाइल’ चाहियो भन्दै ढिपी कसे। गोपाल र अजय त्यही थिए। अजय बियर पिउन थाले।

निशानलाई गोपालको साथ लगाएर चमेलीले मोबाइल किन्न पठाइन्।बेरमै निशान मोबाइल लिएर आए, चमेलीको टेबलमा राखिदिए। गोपाल भने पसलमा आएनन्।निशान ढोकाबाट निस्के। कामको व्यस्तताबीच चमेलीले वास्ता गरिनन्। अजय केहीबेरमा हिँडे।जब ८ बज्यो, निशानको खोजी भयो। ‘खाना खाने बेलासम्म किन आएन?’ भन्दै उनले खोजी गर्न थालिन्। निशान जान सक्ने सम्भावित ठाउँमा खोजिछन्। कतै भेटिएनन्। थोरै आत्तिइन्।

पौने ९ बजे नचिनेको नम्बरबाट फोन आयो। चमेलीले फोन उठाइन् तर आवाज बुझिनन्। सो नम्बरमा फोन फर्काउँदा ब्यस्त देखियो। अर्कोपटक फेरि फोन आयो।‘तिम्रो छोरा हामीले अपहरण गरेका छौं, ४० लाख फिरौती ठिक पार्नू,’ फोन गर्नेले भन्यो, ‘पुलिसलाई खबर गरे राम्रो हुँदैन।’त्यो नम्बरमा चमेलीले फेरि फोन गर्दा लागेन।

चमेली आत्तिइन्। छिमेकीहरू सबैले थाहा पाइहाले। झुम्म भेला भएका छिमेकीलाई चमेलीले यथार्थ बताइदिइन्। छिमेकीहरूले पुलिस कन्ट्रोल–१०० मा फोन गरेर घटना टिपाए। त्यसको केहीबेरमा मामा रामकाजीलाई फोन आयो। रामकाजी सेनामै कार्यरत भाइ पदमलाई लिएर हिँडे।पसलमा पुग्दा प्रहरी आइसकेको थियो। ‘प्रहरीले लोकेसन हेर्न थाल्यो, केहीबेरमै ठिमीतिर भन्दै उतै जाउँ भन्यो, गर्‍यौ,’ सापकोटाद्वयले भने, ‘राति ११–१२ बजेसम्म प्रहरीले खोज्यो, तर पत्ता लागेन।’

सादा पोशाकमा सय–डेढ सय प्रहरी परिचालन भएका थिए। तर, घटना सार्वजनिक नगर्न प्रहरीले सुझाव दिएको थियो।राति ११–१२ बजे बीचमा रामकाजी सापकोटाले गोपालको नम्बरमा फोन गरे, उठेन। ‘गोपालले लिएर गए कि भन्ने शंका लागेर मैले फोन गरेको थिएँ,’ सापकोटाले भने।ठिमी ‘लोकेट’ गरेर प्रहरीले खोजी गर्‍यो। रात बित्यो तर निशान भेटिएनन्।सोमबार झन्डै सवा नौ बजे चमेलीको डेरामा प्रहरी पुग्यो। सापकोटा दाजुभाइ त्यहीँ थिए। ठिमी हिँड्न प्रहरीले अनुरोध गर्यो। उनीहरू प्रहरीको भ्यानमा चढे।१० बजेको हाराहारीमा प्रहरीले दुबैलाई झपार्‍यो, ‘हिजो किन गलत सूचना दिनुभयो तपाईंहरूले?’

‘हामीले त जे भएको त्यही भनेका थियौं, फेरि कसैसँग दुश्मनी पनि थिएन,’ सेनाका भूतपूर्व जागिरे रामकाजी भन्छन्, ‘बच्चा धुलिखेल कटाएको छ, त्यता आफन्त कोही छ? भनी सोध्यो।’सापकोटाले आफन्त नभएको सुनाए। प्रहरी अपरेसन तीब्र थियो।११ बज्दो हो।‘हामी घटनाको नजिक पुगेका छौं, ढुक्क भएर जानुहोस्,’ एक जना प्रहरीले दुबैलाई भने।भ्यानमा राखेर ठिमीबाट प्रहरीले रामकाजी र पदमलाई चमेलीको पसल लग्यो।साढे ११–पौने १२ तर प्रहरी भ्यान बत्तिएर आयो। ‘पत्ता लाग्यो, हिँड्नुहोस्,’ प्रहरीले भन्यो।रामकाजी, पदम र चमेली प्रहरी भ्यानमा बसे।‘भान्जाको सकुशल उद्धार हुन्छ भनेर प्रार्थना गरिरहेका थियौं।’तर, उल्टो भयो।तामाङद्वयको कोठाबाट अन्दाजी ६–७ सय मिटर पर घटनास्थल रहेछ। त्यो दुरी पुग्न लागेपछि प्रहरीले भन्यो, ‘मर्डर भइसकेको छ, दुःख नमान्नुस्, बच्चाको आमालाई सम्हाल्नुस्।’सुनेपछि चमेली ठाउँको ठाउँ बेहोस् भइन्। घटनास्थल पुग्दा प्रहरीले लाश पुरेको माटो पन्छाउँदै थियो।

‘पिल्लर उठाउनका लागि थोरै प्लास्टर गरी माटोले पुरिएको रहेछ। त्यो खोतल्दै जाँदा घोप्टो अवस्थामा लाश फेला पर्यो,’ रामकाजीले भने।घाँटीमा कपडा कसिएको थियो। मुचुल्का तयार गरी लाश पखालपुखल पारेर प्रहरीले पोस्टमार्टमका लागि टिचिङ लैजाने भन्यो। आफन्तहरूलाई पुरानै ठाउँमा छोडिदियो।परिवार अब पूरै शोकाकूल भयो। केही समयपछि सूर्यबिनायकबाट पाइलट बाबाको आश्रम जाने बाटोको जंगलमा इन्काउन्टर भएको खबर टेलिभिजनमा आयो। स्क्रिनमा मारिनेहरूमा तामाङद्वय नाम आयो। त्यसपछि मात्र आफन्तले थाहा पाए, वास्तविक अपहरणकारी चिनेजानेकै मान्छे रहेछन्।

‘भान्जा हराएको १८ घन्टाभित्र लाश भेटियो, दिदीसँग पैसा पनि थिएन, किन त्यत्रो फिरौती मागे? जग्गा बेचबिखनको हल्ला सुनेर अपहरण गरेको हुनसक्छ,’ रामकाजी भन्छन्, ‘फिरौती माग्न मोबाइल किन्न लगाएका रहेछन्।’प्रहरीले खोजी थालेको सुइँको पाएर अपहरणकारीले पोल खुल्ने डरले निशानको हत्या गरेको हुनसक्ने अनुमान आफन्तको छ।रामकाजीका अनुसार तामाङद्वयको कोठा छेउछोउका मान्छेले राति बालक चिच्याएको सुनेका रहेछन्।
‘काठमाडौंको ठाउँमा आपत–बिपत परेछ कि भनेर चियो गर्ने को छ र?,’ रामकाजीले आँशु खसाले, ‘हत्यारा मारिए, चित्त बुझाएका छौं।’बिहीबार निशानका बुबा मलेसियाबाट फर्किँदैछन्। उनी आइपुगेपछि अन्तिम संस्कार गर्ने सोच परिवारको छ।

Post Comment