मुख्य समाचार

कीर्तिनिधि विष्ट :प्रधानमन्त्री हुँदा राजालाई थाहै नदिई पूर्वप्रम थापालाई जेल हालेका थिए

कुरो आजभन्दा ४५ वर्ष अघिको हो। प्रधानमन्त्री कीर्तिनिधि विष्ट थिए। पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा भने आन्दोलन गर्दै सडकमा उत्रिएका थिए। २०२५ सालमा प्रधानमन्त्री पदबाट हटिसकेपछि उनी पञ्चायती शासनभित्रकै विद्रोही बनेका थिए। राजाको प्रत्यक्ष शासन भएका बेला उनले यहाँ द्वैध शासन छ भन्दै राजा र प्रधानमन्त्रीकै विरोधमा चर्का भाषणहरु गर्थे। २०२९ सालको वैशाख ३१ गते प्रधानमन्त्री विष्टले गृहमन्त्री जोगमेहर श्रेष्ठलाई निर्देशन दिए- ‘मध्यरातमै भए पनि सूर्यबहादुर थापालाई तुरुन्त गिरफ्तार गर्नू’

सूर्यबहादुर थापाको दुई वर्षअघि निधन भइसक्यो। ९० वर्ष कटिसकेका विष्टको पनि आज निधन भयो। महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र तीनै राजाले नेतृत्वको लागि पत्याएका विष्ट पञ्चायतकालका भलादमी नेताका रुपमा लिइन्छ। पञ्चायतकालमा तीन पटक प्रधानमन्त्री भएका विष्ट पछिल्लो पटक २०६२/६३ को आन्दोलन अघि ज्ञानेन्द्रले सत्ता हातमा लिँदा बनाइएका मन्त्रिपरिषद्का दुई उपाध्यक्षमध्ये एक थिए।

‘त्यस बेला मैले त्यही गर्नु उचित ठानेँ। अहिले पनि मलाई त्यस कुरामा कुनै पछुतो छैन। उनलाई गिरफ्तार गरेर जेल पठाउनुमा म नै जिम्मेवार हो। त्यसको जस-अपजसको सबै जिम्मेवारी मैले नै बोक्नुपर्छ। राजा वीरेन्द्र सायद थापालाई थुन्नुपर्छ भन्ने पक्षमा थिएनन्। किनभने, भर्खर राज्यारोहण गरेका राजा पूर्वप्रधानमन्त्रीलाई गिरफ्तार गरेर जेल हाल्दा उत्पन्न हुन सक्ने परिणामबाट सचेत पनि थिए। तर, थापाको व्यवहार मलाई पटक्कै चित्त बुझेन। मैले राजालाई एक वचन पनि नसोधी सीधै थुन्न निर्देशन दिएँ। र, अर्को दिन राजालाई त्यस कुराको जानकारी गराएँ,’ विष्टले नेपाल साप्ताहिकमा२०७० सालमा प्रकाशित संस्मरणमा भनेका छन्।

संस्मरणका अंश-

थापा जेल परेपछि उनले त्यहाँ एउटा नाटक मञ्चन गरे, अनशन बसेर। त्यही जेलमा रहेका डिल्लीरमण रेग्मीसहित नेपाली कांग्रेसका धेरै नेताहरूले उनलाई समर्थन गरे। सायद कांग्रेसहरू पनि त्यस अवसरलाई उपयोग गर्न चाहन्थे। जेलभित्र कांग्रेसको समर्थन पाएपछि थापाको हौसला बुलन्द भयो। उनी अनेक हर्कत गरेर जेलभित्रै रहे पनि चर्चामा आइरहे। कहिले होम गरेर त कहिले उट्पट्याङ कुरा गरेर। साथसाथै, जेलबाट उनलाई रिहा गर्न अनेक खालका दबाब पनि आए। तर मलाई ती कुराले छोएन। मैले कुनै हालतमा पनि रिहा नगर्न निर्देशन दिएँ।

एक समय पञ्चायत र पञ्चायती प्रशासनमा ज्यादै ठूलो प्रभाव थियो थापाको। त्यो प्रभावको कति ठाउँमा सदुपयोग भयो र कति ठाउँमा दुरूपयोग भयो, म भन्न चाहन्नँ। तर, प्रशासनमा उनको प्रभाव शक्तिशाली थियो। जो बेलाबेला उजागर पनि हुन्थ्यो। उनी जेल पर्दा पनि त्यो मुखरति भएर आएको थियो।

हामीले त पञ्चायतमा राजा महेन्द्रको नेतृत्वमा सँगसँगै काम गरेका थियौँ। उनी पनि तिनै राजाद्वारा नियुक्त प्रधानमन्त्री थिए। तर, सत्तामा बसुन्जेल राजभक्ति दर्शाउने र सत्ताबाट बाहिरनिे बित्तिकै सिद्धान्तका कुरा गर्ने प्रवृत्ति देखाए उनले। त्यस बेलाको उनका गतिविधिलाई सहेको भए पञ्चहरूमा समेत अनुचित सन्देश जान्थ्यो। यसलाई रोक्नुपर्छ भनेरै मैले उनलाई गिरफ्तार गर्न निर्देशन दिएको हुँ। कुरा यत्ति हो।

कतिपय मानिसहरू ‘राजाले भनेर कीर्तिनिधिले सूर्यबहादुरलाई जेल हाले’ पनि भन्छन्। त्यो गलत कुरा हो। प्रधानमन्त्रीको हैसियतले नै मैले थापालाई जेल हालेको हुँ। उनलाई जेल हाल्नैपर्ने थियो वा थिएन, त्यो बेग्लै बहसको कुरा हो। अर्कोतर्फ, जेल परेपछि सूर्यबहादुरको छवि कस्तो बन्यो भन्ने कुरा पनि बहसकै विषय होला। तर, पञ्चायतभित्रै रहेर निहित स्वार्थले अभिप्रेरति भई दरबार र सरकारको विरोध गर्नु उचित थिएन, त्यसैको सजायस्वरूप उनले त्यो दण्ड पाएका हुन्। उनलाई ताडना दिने, दुःख दिने, सताउने, स्वाहा पार्ने भन्ने उद्देश्यले मैले उनलाई थुनेको होइन। उनी सही बाटोमा हिँडून् भन्ने मात्र मेरो कामना थियो। उनलाई आफ्ना गल्ती सच्याउने अवसर र मौका प्रदान गर्नुपर्छ भनेर मात्र जेल हालेको हुँ।

करबि १४ महिना यसरी जेल बसेर रहिा भएपछि सूर्यबहादुर थापाको ‘द्व्रैध शासन’को मुद्दा हराएर गयो । ०३६ सालको जनमतसंग्रहमा पञ्चायतलाई जिताएर त्यसैको पुरस्कारस्वरूप पुनः प्रधानमन्त्री भए। र, आफूलाई पञ्चायतकै धरोहरका रूपमा उभ्याउने चेष्टा गररिहे।

राजीनामाका प्रसंग
पदमा बसेर चुनाव गराउनुहुन्न भन्ने राजा महेन्द्रका साथै मेरो पनि मान्यताका कारण विसं २०२६ मा पहिलोपटक प्रधानमन्त्रीको पदबाट एक वर्षमै हटेँ। तर, राजीनामा दिएर बस्दा पनि राजा महेन्द्रसँग मेरो आत्मीय सम्बन्ध उस्तै थियो। उनी पनि मलाई उत्तिकै इज्जत र सम्मान दिन्थे। म पनि मन खोलेर आफ्ना कुरा राख्थेँ। उनीसँग मेरो सम्पर्क बरोबर थियो। मलाई बेलाबेलामा दरबारबाट बोलावट हुन्थ्यो र मुलुकका समसामयिक विषयमा छलफल हुन्थ्यो।

यसै समयको कुरा हो। राजदरबारमा आयोजित एक रात्रिभोजमा सरकि हुने क्रममा राजा महेन्द्रसँग व्यक्तिगत कुराकानी हुँदा मैले आफ्नो बैठक कक्षमा बाघको छाला सजाउने इच्छा भएको कुरा व्यक्त गरेँ। राजाले ‘अरूले मारेको बाघको छाला कहाँ पाइन्छ? त्यसका लागि त आफैँ सिकार गर्नुपर्छ’ भन्ने जवाफ दिए। उपस्थित सबैलेे सुन्ने गरी राजा महेन्द्रले मलाई थपथपाउँदै भने, “ए कीर्तिनिधि ! तिमी त अलच्छिना रे नि ! तिमी मसँग सँगै गएकाले मलाई हर्टअट्याक भयो रे ! म फेर िसिकार खेल्न जाँदै छु, तिमी पनि हिँड। धीरेन्द्रहरूसँग तिमी आऊ है।”

राजा महेन्द्र सिकार खेल्न गएका बेला भएको हृदयाघातको प्रसंगलाई लिएर दरबारभित्रैका मेरा विरोधीहरूले अनेक हल्ला चलाएका थिए। यहाँसम्म कि ‘कीर्तिनिधि विष्ट अलच्छिना मान्छे रहेछ, त्यो मान्छे राजासँग गएकाले राजालाई हृदयाघात भयो’ भन्नेसम्मका प्रचारबाजी गररिहेका थिए। एक कान, दुई कान, मैदान हुँदै त्यो कुरा राजाका कानसम्म पनि पुगेको रहेछ। राजाकै मुखबाट यस्तो कुरा सुनेपछि मेरा आँसु छचल्किए।

१ वैशाख ०२८ मा दोस्रोपटक प्रधानमन्त्री भएँ। तर, रामराजाप्रसाद सिंहको घटनापछि राजीनामा दिने मन बनाएँ। सिंह राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएर आएपछि पनि राजसंस्थाविरुद्धका गतिविधिमा निकै सक्रिय भए। मार्सल लगाएरै उनलाई संसद्बाट निष्कासित गर्नुपर्ने अवस्थासमेत आयो। उनै सिंहका विषयलाई लिएर राजा महेन्द्रले वक्तव्यसमेत जारी गर्नुपर्‍यो। वक्तव्यमा सिंहका क्रियाकलाप समाधान गर्न नसकेको भनेर प्रधानमन्त्रीमाथि आक्षेप लागेको मलाई महसुस भयो। त्यसपछि मैले राजीनामा दिने मन बनाएँ।

मलाई राजदरबारबाट बोलावट आयो। राजालाई भेटेँ र केही कुराकानीपछि राजीनामाको पत्र बुझाउँदै भनेँ, “सरकारको ममाथि विश्वास छैन भने मैले यस पदमा बस्न मिल्दैन। ममाथि शंका र आक्षेप लागेपछि नैतिकताका आधारमा यस पदमा बसिरहन उचित लागेन। तसर्थ, राजीनामा चढाएको छु।” राजा महेन्द्रले आफ्ना कुरा राख्दै भनेका थिए, “तिमीलाई मैले शंका गरेको छैन। आइन्दा यसरी स-साना कुरामा राजीनामा दिने काम नगर। तिमीले पटक-पटक राजीनामा दिने र मैले तिमीलाई नै थमौती गररिहँदा अरू कोही व्यक्ति नपाएको जस्तो हुन्छ। जुन बेला मैले तिमीलाई छोडुँला, तिमीले पनि मलाई छोड्नू।”

Post Comment