मुख्य समाचार

कांग्रेस नेताको गर्जनः-“दुईतिहाइ ल्याउँछौं, वाम गठबन्धन ध्वस्त हुन्छ”

नेपाली कांग्रेसका शीर्षनेताहरु चुनावी अभियानका क्रममा मंगलबार रुपन्देही क्षेत्र नम्बर ५ को सालझण्डीमा जम्मा भए । त्यहाँ आयोजित चुनावीसभालाई प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला लगायतले सम्वोधन गरे ।

सभालाई सम्बोधन गर्ने क्रममा बरिष्ठ नेता पौडेलले यो चुनावमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्याउने र वाम गठबन्धनको सपना ध्वस्त हुने बताए ।

कम्युनिष्टविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएका प्रधानमन्त्री देउवाले वामपन्थीहरुले राष्ट्रपतीय प्रणालीको वकालत गरेर समावेशी, समानुपातिक सिद्धान्तलाई समाप्त पार्न खोजेको आरोप लगाए ।

कांग्रेसका शीर्षनेताको टोली मंगलबार हेलिकोप्टर चढेर चुनावी सभाहरुमा सम्बोधन गर्न हिँडेको थियो ।

नेताहरुले मंगलबारमात्रै दाङका ३ वटा र कपिलवस्तु अनि रुपन्देहीका एक/एक वटा सभालाई सम्वोधन गर्न भ्याए ।

देउवाको प्रश्न- लोकतन्त्र रोज्ने कि कम्युनिष्ट शासन ?

रुपन्देहीको सालझण्डीमा आयोजित सभामा बोल्दै प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनले नेपालको भाग्य निर्धारण गर्ने बताए । देउवाले लोकतन्त्र बचाउने कि कम्युनिष्ट शासन ल्याउने भन्ने रोज्न मतदातालाई आग्रह गरे ।

‘अहिले कम्युनिष्टहरु झूठा नारा लगाएर, जनता झुक्याएर नेपालमा कम्युनिष्ट शासन ल्याउने प्रयास छन्, देउवाले मंगलबार रुपन्देहीको सालझण्डीमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै भने, ‘एकदलीय अधिनायकवादी शासन आएमा जनताले बोल्न पनि पाउँदैनन् ।’

रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ को सालझण्डीमा आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘यो बेला कस्तो सरकार बनाउने, कस्तो व्यवस्था गराउने भन्ने हो, त्यसैले लोकतन्त्र बचांउने कि कम्युनिष्ट शासन ल्याउने ?’

कम्युनिष्ट शासन डर त्रासको साम्राज्य भएको भन्दै देउवाले लोकतन्त्र बचाउन र बलियो बनाउन कांग्रेसलाई बहुमत दिन आग्रह गरे । नेपालमा सर्वसत्तावादी कम्युनिष्ट शासनको प्रयास भएको आरोप लगाउँदै प्रधानमन्त्री देउवाले भने- यदि कम्युनिष्टले जिते भने जनतालाई बोल्ने, लेख्ने, संगठन गर्ने अधिकार हुँदैन, हिजो देखिहाल्नु भो नि आतंक, फेरि पनि त्यस्तै हुनेछ ।’

प्रधानमन्त्री देउवाले लोकतन्त्र जनताको अधिकार हो भन्दै कांग्रेसले जनतालाई नतर्साउने र जनतालाई नै मालिक मान्ने बताए ।

नेपालमा समावेशी सिद्धान्तलाई खतम पार्न राष्ट्रपतीय पद्दति ल्याउने कोशिस भएको भन्दै देउवाले यसलाई जनताले नै रोक्नुपर्ने बेला आएको बताए ।

अहिले समावेशी समानुपातिक संविधान बनेकाले सबै अट्न सकेको भन्दै देउवाले यसलाई कम्युनिष्टले उल्टाउने प्रयास गरिरहेको आरोप लगाए ।

प्रधानमन्त्री देउवाले रुपन्देही जिल्ला सुकुम्बासी समस्याले जेलिएको बताउँदै अगाडि भने- ‘तपाई कांग्रेसलाई जिताउनूस् सुकुम्बासी समस्या समाधान गरेरै छोड्छु छोड्छु छोड्छु ।’

प्रधानमन्त्रीले नागरिकताको समस्या पनि समाधान गर्ने बताए । उनले कांग्रेसलाई जिताएर बहुमतको सरकार बनेमा सामाजिक सुरक्षा भत्ता वृद्धि गर्दै बेरोजगार युवाहरुलाई भत्ता दिने घोषणा गरे ।

त्यसैगरी बुद्ध जन्मस्थललाई विश्वको ध्यान तान्न सक्ने पवित्र तीर्थस्थल बनाउने प्रधानमन्त्री देउवाले बाचा गरे । महत्वपूर्ण र सुन्दर शान्ति बाटिकासहितको लुम्बिनीको विकास गरिने देउवाको भनाइ छ ।

Post Comment