एनआरएन विशेष

एनआरएन युरोपियन बैठकको प्रतिक्रियात्मक समिक्षा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को जुलाईमा सम्पन्न सम्मेलनले धेरै सकारात्म र केहि नकारात्मक अनुभबहरु प्रदान गरेको छ । जुलाई २८,२९ र ३० तारिक सम्म चलेको युरोप क्षेत्रीय बैठक १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको थियो । स्थलगत प्रतिक्रिया लिने क्रममा पत्रकार ओम शर्मा र पंतिकारले तयार पारेको प्रतिक्रियाको सार संक्षेप बुदागत रुपमा निम्नानुसार राख्न सकिन्छः

१. कार्यक्रमको ढोकामा आएर पत्रकार महासंघको ब्यानर उभियो जसलाई एनआरएनएले बाध्यताको उपज ठान्नु हुँदैन । यसलाई सबैले सहयात्राको आवश्यक नयाँ अभ्यास भनेर बुझ्नुपर्छ । जसमा भाषा र साहित्यको बहस र प्रस्तुतीले सुगन्धको काम गर्यो । एनआरएनको आत्मा संस्कृति र भाषा रहुन्जेल मात्र बाँच्छ । तसर्थ नेपाली साहित्य र भाषाको फोरममा प्रवेशले छलफलको आत्मा मर्न दिएन ।

पत्रकारहरुको सुझाव प्रवाह, सुचना प्रवाह र कार्यक्रमको क्रम्बद्धतालाई एकछिन नछोडिकन बहसको रिपोर्टिङ गर्नु चुनौतीपूर्ण जिम्मेवारी थियो, जुन पुरा गरे । त्यसले तपाइहरू जत्तिकै हामी पत्रकारहरू पनि जिम्मेवार छौँ भन्ने सन्देश दिएको छ ।

पत्रकारहरू एनआरएनसँगको सम्बन्धको बारेमा अर्को कुरा के पनि सत्य हो भने कुनै पनि अभियानको पारदर्शिताको लागि, प्रचारप्रसार र मुद्धाहरूको अन्तर्रा्ष्ट्रियकरणको लागि पत्रकार अपरिहार्य हुन्छन् । भानिन्छ, अभियानमा पत्रकार नरिवलको खोल हुन् भने अभियान गुदी हो । पत्रकारको खबरदारी अभियानकै हितमा हुन्छ भन्ने कुरा अभियानकर्मीहरूले बेलैमा बुझ्नु जरुरी हुन्थ्यो । नरिवलको खोलजस्तै सुरक्षा कवचको रुपमा कुनै पनि योजना, परियोजना र अभियानको भ्रष्टहरूबाट रक्षा गर्ने पहिलो जिम्मेवारी पत्रकारको हुन्छ । त्यो बिषयमा अभियानकर्मीलाई जिम्मेवार पत्रकारहरुले पटकपटक सुचित गरेका हुन् र गरिरहेका छन् । हाम्रो डायस्पोराको मुख्य अभियानको गुदी एनआरएन अभियान नै हो । त्यसको रक्षा कवच डायस्पोराका नेपाली पत्रकार नै हुन् । त्यसैले यी दुबैको अस्तित्व संगसंगै मात्र जीवित रहन सक्छन् । जुन कुरा सबैले बिस्तारै बुझ्ने छन् ।

२. महिलाहरू आफैमा सांगठनिक उर्जा र योजनाका स्रोत हुन् भन्ने कुरा युरोपियन बैठकमा महिलाहरूले आफ्नो प्रस्तुति, स्फूर्ति र गतिविधिहरूको रिपोर्टिङबाट प्रमाणित गरेर देखाइदिए । उनीहरूको प्रस्तुति महिलाहरूको लागि उत्प्रेरणा र पुरुषहरूको लागि पनि प्रेरणादायी थियो । उनीहरूका शब्दहरूले बताएको भावलाई बुझ्ने सबैले त्यो महशुस गरे होलान् । त्यो भावलाई सदैब सम्मान गरिनु पर्छ। हामीले आयोजना गरीदिएको फोरम उनीहरुलाई प्रयोग गर्न दिनुहुदैन भन्ने भाब राख्नु हुदैन।

३. त्यो बैठक हल तीन दिनको लागि परिचय, माया, सदभाव र बन्धुत्वको ग्लोबल पारिवारिक घर बन्यो । जुन कुरा सबै भन्दा महत्वपुर्ण मनोवैज्ञानिक उपलब्धि हो । नेपालका परराष्ट्र मन्त्री र पुर्व प्रधानमन्त्रीलाई साक्षी राखेर आपसी सदभाव प्रेमको शितल हावाले लग्जेम्बर्गलाई सुम्सुम्यायो । हरेक उपलब्धिको पहिलो शर्त नै परिचय हो । त्यो फोरमले धेरैलाई एकै ठाउँमा भेला गराएर घुलमिल हुने वातावरण बनाइदियो । त्यहाँ डायस्पोरामा विशाल नेपालको एक आकृति महशुस गर्ने गरी सबैले देखे ।

४. यो बैठकको प्रत्येक्ष प्रशारण, अन्तर्रा्ष्ट्रिय प्रभाव र सन्देशको दीर्घकालिक मनोवैज्ञानिक महत्व समेत रहने गर्छ । नेपाल र नेपालीसंगको सम्बन्ध विस्तारमा लग्जेम्वर्गका शिक्षामन्त्री, प्रधानमन्त्री लगायतको सम्बोधनको ऐतिहासिक महत्व रहने छ । एकातर्फ त्यसले लग्जेम्बर्गका नेपालीहरूको लग्जेम्बर्ग स्थित सरकारी उच्च निकायसम्मको पहुँचलाई प्रमाणित गरेको छ भने अर्कोतर्फ नेपालको पर्यटन प्रवर्धन र दुई देश बीचको सम्बन्धमा समेत सकारात्मक प्रभाव पारेको छ ।

५. एआरएम आयोजक देश लग्जेम्वर्गका नेपालीहरूको अतिथि सम्मान, आदर्श आत्मियता र ब्यवस्थापकीय कुशलताबाट सबै देशका पाहुना नेपालीहरूले केहीन केही पक्कै सिके होलान् भन्ने अनुमान गर्न सकिन्छ । त्यो सम्मानयोग्य आतिथ्यताको लागि सहभागीहरूले एनआरएनए लग्जेम्वर्गका अध्यक्ष नारायण गुरुङको टिमलाई श्रद्धासहित मुरीमुरी धन्यवाद दिँदै विदा भएका थिए । आयोजक देशमा संख्या भन्दा योजना, तत्परता र आत्मबल महत्वपुर्ण हो भन्ने कुरालाई लग्जेम्बर्गका नेपालीहरुले राम्रैसंग सिकाइदिए ।

यी सबै कार्यक्रमका सकारात्मक तत्वहरू बहसको क्रममा अनुभव गरिएका हुन् । कतिपय कुराहरू भिडियो प्रतिक्रियाको क्रममा समावेश गरिएको छ । त्यस्तै कार्यक्रमको प्रक्रियामा हुनुपर्ने तर नगरिएका वा नियतवश गर्न नखोजिएका नकारात्मक कुरा पनि अभियन्ताहरूले प्रतिक्रियाको क्रममा बताएका छन् । जसलाई तल लिपिबद्ध गरिएको छ ।

१. कार्यक्रमको अस्तव्यस्तताले समय–तालिकाको लगौँटी खुस्कियो । समय–तालिका केवल देखाउनको लागि रह्यो । कार्यक्रम ब्यवस्थित बनाउन समय–तालिकाको अहम महत्व रहन्छ । तर त्यति विशाल बैठकको अस्तव्यस्तताले धेरै पूर्व्निर्धा्रित महत्वपुर्ण छलफलहरूलाई मिचिदियो । जसको मर्कामा महिला फोरम र राष्ट्रिय समन्वय परिषदको कार्यक्रम पर्न गयो । तीन–तीनपटक दोहोर्याइएका नेताहरूका भाषण एकपटकमा झारेको भए महिलाहरूको फोरमले दुइ घण्टा बढी समय पाउँथ्यो ।

२. त्यहाँ जति राष्ट्रिय समन्वयहरूबाट रिपोर्टिङ भयो त्योभन्दा धेरै आश्वासन र असन्तोषका पोकाहरू छरपष्ट देखिन्थे । नागरिकता अभियान, शंखमुल पार्क, लाप्राक बस्ती निर्माणलगायत धेरै परियोजनाहरूबारे गुनासाहरू आए । आर्थिक अनियमितताका समेत केही आशंकाहरू ब्याक्त गरिए । ’धनीहरूका एकल प्रोजेक्टहरूमा लगानी भए पनि सामुहिक योजनाहरू खासै सुरु गरिएका छैनन् किन ?’ जस्ता गुनासाहरू कुनाकाप्चाबाट सुन्न पाइन्थ्यो । जुन एनआरएनए अभियानको सुन्दर पक्ष पक्कै पनि हैनन ।

लगानीमा भन्दा कार्यक्रम वा बैठक आयोजनाको खर्च बढी देखिनु एनआरएनएहरूको अर्को दुःखद तथा आलोच्य पक्ष हो । लग्जेम्बर्गमा एउटै मिटिङमा अनुमानित एक लाख युरो सकियो । अहिलेसम्म युरोपमा मात्रै त्यस्ता एघारौँ बैठक भए । त्यही स्तरमा खर्च गरिए होलान । मझौला हाइड्रो प्रोजेक्ट बनाउन सकिने बजेट मिटिङ वा छलफलमै सकिनु पक्कै सकारात्मक कुरा हैन । संघले नेपालमा लगानी गरेको वा गर्न लागेको बजेटको सत्तरी प्रतिशत बजेट बैठकमै सकिएको अभियन्ताहरू आफै स्विकार्छन् । त्यसैले अब समृद्ध नेपालको अभियानमा सोच्नुपूर्व सम्मेलन वा बैठक खर्च कटौतीका उपायबारे सोच्नु अभियानको हितमा हुने देखिन्छ ।

४. लग्जेम्बर्गका शिक्षामन्त्री, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, सांसदलगायत कार्यक्रमका आयोजकलाई समेत पूर्वमन्त्री हिसिला यमीले सम्बोधन गरिनन् । समयको बचतले उनले सम्बोधन नगरेकी हुन् भने पनि त्यसलाई कदापि जायज मान्न सकिँंदैन । राज्यका प्रमुख र सम्मानित उच्च पदस्थहरूको लागि केही शब्दहरू खर्च गर्दा कदापि पनि उनको उचाइ कम हुने थिएन । तर त्यो सम्बन्धमा कार्यक्रम स्थल वरपर गाइगुइ सुनिएपनि औपचारिक बिरोध गरेको सुनिएन।

५. गैरराजनैतिक संगठनमा राजनैतिक वक्ताहरू पनि कति ? एउटैले घण्टा खाइदिने ! मञ्च एकपटक भन्दा बढी नदिएको भए महिलाहरूको बिषयगत बहसको लागि प्रशस्त समय पुग्दथ्यो । ’कार्यक्रम संचालन गर्न मनोनित आइसीसीलाई दिनु तर उपसंयोजक एकराज गिरीलाई नदिनु राजनीतिक विभेदको कारणले हो’ भन्ने गुनासो सुनियो। गैह्र आबासिय नेपाली संघ राजनैतिक संगठन नभए पनि बैठक चाहिँ राजनीतिकरणको सिकार भयो भन्नेहरूलाई आयोजकहरूले उत्तर दिन सकिने अवस्था रहेन ।

६. बहसमा सुन्य गहनता, न्युन चासो र मुद्धाहरू माथि कमजोर नजरले बैठकलाई औपचारिकतामा मात्र सीमित राख्ने प्रवृत्तिलाई निरन्तरता दिएको गुनासो सुनिन्थ्यो । बहस पहिलेभन्दा फरक किसिमले सञ्चालन गरिने कुरो सुनिएको थियो । तर खासै बहसमा केन्द्रिकृत मुद्धा, लगानी मुद्धा र स्थानीय मुद्धामा जमेर बहस हुन सकेन ।

७. लग्जेम्बर्गका नेपाली चेलीहरूले पाहुनाहरूलाई लाइन लागेर स्वागत र अभिवादन गरे । हामीले कतिपय अवस्थामा ती बालिकाहरूको अभिवादन फर्कायौँ र कतिले फर्काएनौ ? ती बालिकाहरूलाई नमस्कार नफर्काउँदा कसैलाई प्रत्यक्ष असर हुँदैन । तर बालिकाहरूको नेपाली अविभावकहरूप्रति पार्ने मनोवैज्ञानिक असर भने अकल्पनीय रहनेबारे कसैको हेक्का रहेन ।

८. म्युजिकल सिस्टमको अवस्था अत्यन्त दयनीय देखियो । जब गायक गीतको ट्रयाक बजाउँथे आधाआधि नहुँदै म्युजिक बतुराउन थाल्दथ्यो । गायक अमिलो मान्दै आयोजकलाई मिठो गरी सराप्थे ।

९. नेपालबाट आएका पाहुनाबारे आयोजक पारदर्शी देखिए तर बैठक योजनाको अनुमानित बजेट र अन्तसम्मको खर्चबारे आयोजक चुइँक्क बोलेनन् । उनीहरूले खै कसरी खर्च विवरण सार्वजनिक गर्ने हुन् त्यो भोलिकै गर्भमा छ ।

१०. धेरै प्रतिनिधिहरू बैठकमा भुल्न आएको भन्दा पनि डुल्न आएको देखियो । बैठक चलेकै दिन देखि प्रतिनिधि र पाहुनाहरु घुम्नमा ब्यस्त देखिए। उनीहरुकोलागी बैठकको खासै महत्व देखिदैनथ्यो।

११.’ एक अभियन्ता भन्दै थिए, ‘अब युरोपमा भएका एनसीसीहरूको पारदर्शिता, समर्पण, संगठन परिचालन, आन्तरिक र राष्ट्रिय योजनाहरूमा योगदान, लगानी, निष्पक्षता आदिबारे मुल्यांकन गर्ने पद्धतिको विकास गर्नुपर्छ । यहाँ मुल्यांकन पद्धति नहुने हो भने त्याग र समर्पणको भन्दा गुठ र मण्डलीको भजन शुरु हुने छ ।’ एनसीसी प्रतिष्पर्धात्मक बनाउन मुल्यांकन पद्धतिको विकास गरिनु जरुरी देखिन्छ ।

१२. ’नेपालबाट बोलाइने नेताहरूको जुलुस अनुपयुक्त छ । त्यसमा लाग्ने टिकट खर्च, ब्यवस्थापकीय खर्चको भारले संगठन वा आयोजकलाई निचोर्नु अन्याय हो । उनीहरूको अनुत्पादक दोहोर्याइ तेहर्याई भाषणले महिला फोरमको समय समाप्त पारिदियो । त्यो कार्य रोकिनुपर्छ’ भन्ने आवाज पनि कुनाकाप्चाहरूबाट उठ्यो । तर आयोजकले सुनिने गरी उठेन । चर्को रुपमा उठ्नु चाहिँ पर्थ्यो ।

मिडिया राखेर समीक्षा गर्ने बानी नबसेसम्म एनआरएनको आधारभूत सोचमा परिवर्तन हुन सक्दैन । त्यसको लागि आयोजकले कार्यक्रमबारे द्वन्द्वात्मक तरिकाले समीक्षा गर्नु जरुरी देखिन्छ । यो बैठकको समीक्षा कसरी गर्लान् त्यो त समिक्षा बैठक पछिनै थाहा हुने छ ।

अन्त्यमा, हाम्रा जे–जस्ता संस्थागत वा ब्यक्तिगत सवल वा दुर्वल पक्ष भए पनि कसैले इन्कार गर्नै नसक्ने गरि डायस्पोरा देश बनिसक्यो । डायस्पोराका नेपालीले एनआरएनए मार्फत नेपालबाहिर अर्को नेपाल बनाइसकेका छन् । गल्तीहरूबाट नै मान्छेले सिक्ने हो । गल्ती हुँदैमा वा केही बदमासहरूले ब्याक्तिगत स्वार्थलाई पुरा गर्न संस्थाको लोगो प्रयोग गर्दैमा डायस्पोराको नेपाल धरायासी हुँदैन । यो नै अन्तिम सत्य हो ।

आयोजक देशद्वारा लगातार तीन दिनसम्म दिइएको सम्मान र अभिभावकत्वको भावले सायद सबै सहभागीहरू रुझेका थिए । नारायण गुरुङ र उनको टिमलाई भन्नैपर्छ, यदि सबैतिर यस्तै टिम भयो भने डायस्पोराको नेपाली एउटा स्नेहिलो परिवार बन्न, एउटाको पीडामा सबै हात एकै साथ उठेर सामाजिक सदभाव र भातृत्वको प्रेमिल आँखाले नयाँ संस्कार देख्न समय लाग्ने छैन ।

Post Comment