राजनीति

गृहमन्त्री जनार्दन शर्माले रुकुमबाट उम्मेदवारी दिने

गृहमन्त्री जनार्दन शर्माले आगामी संघीय संसदका लागि रुकुममा प्रत्यक्षतर्फबाट उम्मेदवारी दिने भएका छन् ।

रुकुम सदरमुकाम मुसिकोटमा मंगलबार बसेको माओवादी केन्द्रको जिल्ला कमिटी बैठकले शर्मालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । शर्मा यसअघि दुईपटकसम्म रुकुमबाटै संविधानसभा सदस्यमा निर्वाचित भएका हुन् । रुकुम स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले शतप्रतिशत जित हासिल गरेको जिल्ला हो ।

बैठकले प्रदेश सभाका लागि क्षेत्र नम्बर–२ बाट गोपाल शर्मा अनललाई उम्मेदवार बनाउने पनि निर्णय गरेको छ । माओवादी रुकुमका संयोजक समेत रहेका शर्मा हाल गृहमन्त्री जनार्दन शर्माका स्वकीय सचिव छन् ।

प्रदेश नम्बर–१ मा भने आकांक्षी धेरै भएकाले उम्मेदवारको टुंगो लाग्न नसकेको एक नेताले बताए । विवाद भएपछि बैठकले वसन्त शर्मा, अनिल शर्मा, बुद्धिप्रसाद शर्मा, विमला केसी, कुलबहादुर नाथ र जयबहादुर पाण्डको नाम सिफारिस गरेको छ ।

Post Comment