राजनीति

प्रदेश नम्बर २ : हिन्दीको विरोधका बीच हिन्दी भाषालाई कामकाजको भाषा बनाउन सकिन्छ?

प्रदेश नम्बर २ मा अहिले भाषा विवाद चर्किएको छ। प्रदेशको कामकाजका लागि कुन भाषा प्रयोग गर्ने भन्ने विषयमा दलका नेताहरुबीच विवाद बढेको हो।

प्रदेश सभाको पहिलो बैठकमा मधेशकेन्द्रित दलहरु फोरम र राजपाका विधायकहरुले हिन्दीमा भाषण गरेका थिए। तर अन्य दलका विधायकहरुले मैथिली र नेपाली लगायतका भाषामा सम्बोधन गरे।

मधेशी दलका नेताहरुले हिन्दीमा सम्बोधन गरेको भन्दै कांग्रेसका आधा दर्जन कार्यकर्ताहरुले जनकपुरधाममा मधेशी नेताहरुको पुतला दहनसमेत गरे।

प्रदेशमा अधिक जनसंख्याले बोल्ने एक वा त्यसभन्दा बढी भाषालाई त्यस प्रदेशको कामकाजको भाषा बनाउन सकिने प्रावधान संविधानमा रहेको छ। संविधान अनुसार जाने हो भने दुई नम्बर प्रदेशमा करिब आधा दर्जन भाषीहरुको बाहुल्य छ । भोजपुरी, बज्जिका, मैथिली, मगही, पूर्वी थारु, उर्दु र हिन्दी बोल्नेहरुको जनसंख्या अधिक छ। सबै भाषालाई कामकाजको भाषा बनाउँदा काम गर्न कठिन हुने वरिष्ठ पत्रकार राजेश्वर नेपाली बताउँछन्।

नेपालीले भने,‘दुई नम्बर प्रदेशमा मैथिली लादन खोजे भोजपुरी र हिन्दीवालाले अस्वीकार गर्नेछन्। लोकतन्त्रमा सबैलाई भाषा संरक्षणको अधिकार छ। कुनै एउटा भाषा लादनु भन्दा सबैले बुझ्ने र स्वीकार गर्ने हिन्दी भाषालाई कामकाजको भाषा बनाउन सकिन्छ।’

मैथिली बाहुल्य कयौं घरहरुमा हिन्दी पनि बोलिने गरेको डा.राजेन्द्र विमल बताउँछन्। उनी भन्छन्,‘हिन्दी भाषा कुनै एक क्षेत्रको होइन। तराई मधेशको सम्पर्क भाषाको रुपमा हिन्दी रहँदै आएको छ। त्यसकारण हिन्दी पनि उपयुक्त हुनेछ।’

डा.विमलले हिन्दीमा सम्बोधन गरेका फोरम र राजपा विधायकहरुको पुतला दहन गर्नु उचित नभएको बताए।

प्रा.डा.भोगेन्द्र झा पनि हिन्दीको समर्थन गर्छन्। उनी आफू मैथिली भाषी भएपनि समग्र मधेशलाई जोड्न र मधेश आन्दोलनको भावना अनुरुप हिन्दी भाषालाई  पनि कामकाजको भाषा बनाउँदा अन्यथा नहुने बताउँछन्।

राजपाका विधायक उपेन्द्र महतोले पहिलोपोस्टसँग भने,‘गजेन्द्र बाबुले आन्दोलन गर्दा उनको प्रमुख मागमा हिन्दी भाषालाई सम्पर्क भाषा बनाउनु पनि थियो। यसले समग्र मधेशीलाई जोड्ने हाम्रो विश्वास छ। त्यसकारण राजपाको पहिलो रोजाई हिन्दी हो।’

‘हिन्दी भाषालाई स्वीकार गर्न कठिन भए मधेशी भाषाको संयोजन गर्न सकिनेछ। मधेशका सबै भाषाको सम्मान गर्दै हिन्दीका केही व्याकरणहरुलाई परिवर्तन गरी मधेशी भाषा बनाउन सकिनेछ,’ महतोले भने,‘मधेशी भाषा संयोजनका लागि प्रदेश सरकारले आयोग बनाउन सक्छ। यस किसिमको भाषा संयोजन कयौं देशमा भएको छ।’

सामाजिक सञ्जालमा पनि मधेशी भाषा संयोजनका विषयमा बहस चलेको छ।

समग्र मधेशमा करिब एक दर्जनभन्दा बढी भाषा बोलिचालीमा छ। कयौं स्थानमा अहिले पनि हिन्दी र नेपालीलाई सम्पर्क भाषाको रुपमा प्रयोग गरिन्छ। मधेशका अधिकांश भाषा हिन्दीसँग निकट छन्। त्यसकारण हिन्दीका व्याकरण तथा मधेशमा बोलिने भाषाहरुलाई सहजिकरण गरी मधेशी भाषा निर्माण गर्न सकिने समाजिक अभियन्ता सुरेन्द्र मण्डल बताउँछन्।

Post Comment