राजनीति

‘बुधवार एकताको खाका घोषणा हुन सक्ने’

नेकपा एमालेका अध्यक्ष केपी ओली तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मंगलवार साँझ भएको एक्लाएक्लै वार्ताले दुई पार्टीको एकताका सन्दर्भमा थप प्रष्टता ल्याएको माओवादी केन्द्रका एकजना नेताले बताएका छन्।

बुधवार एकता संयोजन समितिको बैठक बसेपछि सो सम्बन्धी खाकाको घोषणा हुन सक्ने दुवै दलका नेताहरुले बताएका छन्।

 

केही साताअघि अड्किएकोजस्तो भान परेको दुई दलबीचको एकतासम्बन्धी प्रयासहरु केही दिनयता पुन: तीव्र बनेको देखिएको छ।

दुई दिनभित्र दुई अध्यक्षकाबीच मंगलवार दोस्रो पटक बैठक बसेको हो।

मंगलवार साँझ दुई नेताबीच भएको छलफललाई माओवादीका अध्यक्ष प्रचण्ड निकट मानिएका नेता अग्निप्रसाद सापकोटाले निकै सौहार्दपूर्ण एवं फलदायी भएको बताएका छन्।

त्यसको परिणाम बुधवारका लागि डाकिएको एकता संयोजन समितिको बैठकबाट देखिने उनको भनाइ थियो।

“कुराकानी सकारात्मक सौहार्द र निष्कर्षतिर नै अगाडि बढेको छ। हिजोबाट थप एक कदम अघि बढेको छ। अब आ-आफ्ना दलका उच्च नेतृत्व माझ छलफल हुन्छ र भोलि दिउँसो बस्ने एकता संयोजन समितिले अन्तिम घोषणा गर्न सक्छ,” उनले भने।

आलोपालोबारे भिन्न भनाइ

उनका अनुसार पार्टीका सिद्धान्तका हकमा बहसमा लगेर महाधिवेशनमार्फत् टुंग्याउने सहमति बनेको छ भने पार्टीको अध्यक्ष र प्रधानमन्त्रीजस्ता कार्यकारी पदमा आलोपालोको भावना अनुसार कुराकानी भइरहेको छ।

उनको सो भनाइलाई मंगलवार दिउँसो चितवनमा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले पनि घुमाउरो ढंगले पुष्टि गरे।

उनले आफू ढिलोचाँडो प्रधानमन्त्री हुने अभिव्यक्ति त्यहाँ दिएका थिए।

“अहिले टुंगिएको त छैन। तर म ढिलोचाँडो प्रधानमन्त्री भएर आउँछु भन्ने चाहिं मलाई विश्वास छ,” प्रचण्डले भने।

कार्यक्रमलगत्तै पत्रकारहरुसँग कुरा गर्दै उनले एकता भएपछि बन्ने पार्टीमा दुईजना नै सहअध्यक्ष बन्ने विषय मिल्न लागेको पनि उल्लेख गरेका थिए।

तर उनको सो भनाइप्रति एमालेका नेताहरुले असहमति जनाएका छन्।

खासगरी प्रधानमन्त्रीको पद आलोपालोबारे कुनै सहमति नभएको प्रदीप ज्ञवालीले बताए। उनले भने, “त्यस्तो कुनै सहमति भएको छैन। जनताको अभिमत पनि स्थिर सरकार बनोस् भन्ने नै छ। यद्यपि भोलि एउटै पार्टी बनिसकेपछि नेताहरुबीच कार्यविभाजन फेरबदल भइरहन सक्छन्। त्यो सम्भावनाको पाटो बेग्लै हो।”

निर्वाचन आयोगले छिट्टै नै निर्वाचनको पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाउने भएकाले त्यस अगावै एउटा निचोडमा पुगेर संयुक्त सरकारको दावेदारी प्रस्तुत गर्नुपर्ने पक्षमा माओवादी देखिएको छ।

त्यसैले यी विषय चाँडै समाधान गरिसक्न एमालेमाथि दबाब परेको कतिपय विश्लेषकहरुले ठानेका छन्।

सोही कारण बुधवार बस्ने भनिएको दुवै दलका शीर्ष नेताहरु सामेल एकता संयोजन बैठकले धेरैको ध्यान खिचेको छ।

Post Comment