राजनीति

म सत्ताको दुरुपयोग गर्दिन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सत्ताको दुरुपयोग नगर्ने स्पष्ट पारेका छन् ।

राष्ट्रिय सूचना दिवस २०७५ का अवसरमा राष्ट्रिय सूचना आयोगले आईतबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उनले पारदर्शिता र सभ्य समाज निर्माणको दिशामा लागेको दाबी गरे । यसअघिको सरकारले बहुमतका आडमा महाअभियोगको प्रस्ताव सदनमा ल्याएको भन्दै दुईतिहाई छ भन्दैमा वर्तमान सरकारले भने यस्ता प्रकारको दुरुपयोग नगर्ने ओलीको भनाई थियो ।

त्यस्तै प्रधानमन्त्री ओलीले कांग्रेसलगायत सबैलाई विषयवस्तु अध्ययन गरेर मात्र सरकारको विरोध गर्न सुझाव दिए । सरकारले राष्ट्रलाई आवश्यक पर्ने कुराहरुको संशोधन गर्दै जाने भन्दै ओलीले कसैको निर्देशनमा विरोधमा उत्रनुको कुनै तुक नभएको टिप्प्णी गरे । उनले भाद्र १ गतेदेखि जारी भएको देवानी संहिता धेरै अघि देखिनै छलफलमा आएको र १ बर्षअघि नै पारित भएको भन्दै ऐन नियम पालना गर्नमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले सबैलाई समान हक अधिकार प्रदान गर्न सरकार तत्पर रहेको बताए । सरकारको सूचना आफूले पाउनुभन्दा पहिले नै चुहावट हुने गरेको भन्दै गोपनियताको ख्याल गर्न ओलीले सबैलाई आग्रह गरेका छन् ।

Post Comment