राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै नबसी स्थगित

शुक्रवारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै नबसी शनिवार सम्मका लागि स्थगित भएको छ । विहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह साढे ४ बजे स्थगित भएको जानकारी केन्द्रीय सदस्यहरुलाई दिइएको थियो ।

पार्टीका विभाग गठन गर्नुपर्ने तथा विधान मस्यौदा समितिमा जिल्ला सभापतिहरुलाई समेत समावेश गर्नुपर्ने बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको अडानका कारण बैठक स्थगित भएको हो ।

आन्तरिक तयारी नपुगेका कारण बैठक शनिवार बिहान ११ बजे सम्मका लागि स्थगित भएको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।

केन्द्रीय समितिको बैठकअघि सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता पौडेल सहित पदाधिकारीको बैठक बसेको थियो । पदाधिकारी बैठकमा पौडेलले विधान मस्यौदा समिति गठनमा असन्तुष्टि जनाएका थिए । उनले पार्टीका विभाग गठनमा ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएका थिए ।

समसामयीक राजनीति, महासमिति बैठकको तयारी, विधान संशोधन र विभाग गठन लगायतका बिषयमा छलफल गर्न केन्द्रीय समितिको बैठब बोलाइएको थियो । आगामी बर्षको फागुनमा हुने महाधिवेशन प्रभावित गर्नेगरी सभापति देउवाले महासमिति बैठक परसार्न खोजेको भन्दै पौडेल समूह असन्तुष्ट छ ।

केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कांग्रेसले संघीय संरचना अनुसार पार्टीका संगठनात्मक संरचनाहरुलाई पुर्नसंरचना गर्नका लागि महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा पार्टीको विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो

Post Comment