समाज

जनैपूर्णिमा धुमधामका साथ मनाइँदै

हिन्दु धर्मावलम्बीहरुको विशेष चाड जनैपूर्णिमा आज धुमधामका साथ मनाइँदैछ। महर्षि याज्ञवल्क्यले आजकै दिन आदित्य ब्रह्मबाट वेद प्राप्त गरेको विश्वास अनुसार वेदजयन्तीको रुपमा पनि यो दिनलाई चिनिन्छ।

वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना समेत गर्ने गर्छन्।

आजको दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गरिएको छ।

हिन्दुधर्मका वैदिक ग्रन्थअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ। शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ।

आज बिहान आ–आफ्ना गुरु पुरोहितकहाँ जाने र उनैद्वारा जनै ग्रहण गर्ने पनि गरिन्छ। व्रतबन्ध गरी वैदिक परम्पराले दिएको शिक्षा-दीक्षाको उचित तवरले पालना गरी सत्कर्ममा लाग्न समेत आजको यो चाडले स्मरण गराउँछ।

आज नै दिदीबहिनीहरूले आफ्ना दाइभाइको हातमा पवित्र धागो रक्षाबन्धन बाँधेर, टीका लगाएर मिठाई खुवाउने प्रचलन पनि छ। परम्परा अनुसार जनैपूर्णिमामा नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन पनि रहिआएको छ।

जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा प्रदेश २ मा आज सार्वजिनक बिदा दिइएको छ। प्रदेश सरकारको निर्णबाट बिदा दिइएको हो।

Post Comment