खेल

सिटीले लिभरपुललाई ५–० ले हरायो

 इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिभरपुललाई ५–० को फराकिलो अन्तरमा हराएको छ ।

सिटीको मैदानमा शनिबार साँझ भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन ग्याब्रिएल जिसस र लेरोए सानेले २–२ गोल गर्दा सर्जियो अगुएरोले एक गोल थपे ।

खेलको ३७औं मिनेटमै लिभरपुलका सादियो माने रातोकार्ड खाँदै बाहिरिएपछि पाहुना टोली १० जनामा समेटिएको थियो ।

प्रिमियर लिगअन्तर्गत्कै अर्को खेलमा चेल्सीले लेस्टर सिटीलाई २–१ ले हरायो ।

चेल्सीका अल्भारो मोराटा र एन्गोलो कान्तेले एक–एक गोल गर्दा लेस्टरका जेमी भार्डीले पेनाल्टीमार्फत् एक गोल फर्काएका थिए ।

शनिबार राति नै भएको अर्को खेलमा आर्सनलले बर्नमाउथलाई ३–० ले हरायो । आर्सनलको जितमा ड्यानी वेल्बेकको २ तथा अलेक्जेन्डर लाकाजेटको एक गोल सामेल थियो ।

प्रिमियर लिगमा टोटनह्याम हट्सपरले एभर्टनलाई उसैको मैदानमा ३–० ले पराजित गर्दा म्यानचेस्टर युनाइटेडलाई स्टोक सिटीले २–२ गोलको बराबरीमा रोकेको छ ।

स्टोकको मैदानमा भएको खेलमा म्यानयुका लागि रोमेलु लुकाकु र मार्कस रास्फोर्डले एक–एक गोल गरे । स्टोक सिटीका चोउपो मोटिङले २ गोल गरेपछि म्यानचेस्टर युनाइटेडको शतप्रतिशत विजयी यात्रा रोकिएको हो ।

प्रिमियर लिगअन्तर्गत् शनिबार राति भएका अरु खेलहरुमा ब्राइटनले वेस्ट ब्रोमलाई ३–१ ले हराँउदा वाट्फोर्डले साउथह्याम्पटनमाथि १–० को जित निकाल्यो ।

यी खेलहरुपछि प्रिमियर लिगको अंकतालिकामा ४ खेलबाट १०–१० अंक जोडेका म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

तेस्रो स्थानको चेल्सीको ९ अंक छ भने ८ अंकको साथ वाट्फोर्ड चौथो स्थानमा रहेको छ ।

Post Comment