खेल

एन्फा अध्यक्षमा शेर्पा प्यानलसहित विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा प्यानलसहित विजयी भएका छन् । शेर्पाले अध्यक्षका अर्का प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गरेका हुन् । शेर्पाले ६३ मत पाउँदा कुँवर १२ मतमात्रै पाए ।

शनिबार ललितपुरमा भएको १६ औँ साधारणसभामा उपाध्यक्ष र ११ जना सदस्यमा पनि शेर्पा प्यानलकै विजयी भएका छन् । उपाध्यक्षमा पंकज विक्रम नेम्बाङ (६१ मत), वीरबहादुर खड्का (२९ मत), कृष्णबहादुर थापा (५२ मत) र उपेन्द्रमान सिंह (५८ मत) विजयी भए ।

त्यस्तै सदस्यहरुमा दावा लामा, निरोज खड्गी, पूर्णमान चित्रकार, रवीन्द्रनाथ श्रेष्ठ, मधुसुदन उपाध्याय, प्रदेशसिंह रठौर, दिनेश व्यञ्जनकार, दीर्घबहादुर केसी, किरण राई, विजय घले र रत्न बहादुर श्रेष्ठ विजयी भएका छन् ।

साधारणसभामा ७५ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए । प्रत्यासी कुँवरले भने साधारणसभा विधिसम्मत नभएको भन्दै आफू निर्वाचन प्रक्रियामा सहभागी नहुने घोषणा गरेका थिए ।

Post Comment