साताको कुराकानी

त्यसदिन सेन्ट्रल जेलमा रगतको खोला बग्नेवाला थियो… (अन्तरर्वाता)

उपेन्द्रकान्त अर्याल नेपाल प्रहरीका हालका आइजिपी हुन् ।  उनको टोली आउँदो फागुन २ गते ३० वर्षे सेवाहद पूरा गरी अवकास हुँदै छ । हेमन्त मल्ल ठकुरी पनि ०४३ फागुन २, अर्थात् त्यही ब्याचमा भर्ना भएका इन्स्पेक्टर हुन् । तर, उनले भने डिआइजीमा पाँच वर्षे पदावधि लागेर केही दिनअघि अवकाश पाए । सर्वोच्चका न्यायाधीश रणबहादुर बमदेखि रानीबारी हत्याकाण्डसम्मका अनेकन चर्चित घटनाको अनुसन्धानमा सफल भएर चिनिन्छन् । केही समय अख्तियारमा सुरक्षा प्रमुखका हैसियतले खटिए । जनआस्था साप्ताहिकमा प्रकाशित नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीसंग अन्र्तवार्ताको सम्पादित अंश :-

  • प्रहरीले अनुसन्धान गर्न चाहँदा जे पनि गर्न सक्ने, नचाहेपछि केही पनि नहुने भन्ने बुझिन्छ । वास्तविकता के हो ?

– इच्छाशक्ति र टिम मोबिलाइजेसन, यी दुई कुरा मुख्य हुन् । प्रहरी भएपछि घटनाहरूको अनुसन्धान गर्छु÷गर्दिन भन्ने अप्सन नै छैन । जागिर खाएकै त्यसका लागि हो । सफल हुने कि नहुने भन्ने कुरा कस्तो टिमसँग काम भइरहेको छ भन्नेमा भर पर्छ । कुनै कुनै कुरा अकस्मात् भइरहेका पनि हुन्छन् त कतिपय कुरा जतिसुकै गर्न चाहेर पनि सफल नहुन सक्छन् ।

  • वर्षौंदेखि लुकेका अपराधी तपाईंले पहिचान गर्नुभयो । यो अलिक नाटकीय भयो भन्छन् !

– काम टिमले गर्ने हो, व्यक्तिले मात्र होइन । एउटा अनुभव थियो, मसँग काम गर्ने टिमका मान्छेहरूसँग पनि त्यस्ता फरक फरक अनुभव थिए । अनुभवहरू प्रयोग गर्न दिनुपर्छ । त्यसले रिजल्ट ल्याउँछ । भएको त्यही हो । विदेशी डान्सबार, म्यारिज ब्युरोका नाममा नेपाली चेलिबेटीको विदेशमा ओसारपसार बढेको छ । यो कुरा पनि हामीले नै पत्ता लगायौँ । पहिला हाउसमेडका लागि विदेश जाने र बेचिने कुरा मात्रै थियो । तर, अहिले विभिन्न नाम र बहानामा चेलिबेटी बेचिन्छन् भन्ने कुरा टिमले पत्ता लगाएको हो, हेमन्त मल्लले मात्रै होइन । १७ वर्ष प्लेन क्लोथ (सादा पोशाक) मा जागिर खाएँ । नेपाल प्रहरीमा जति पनि नीतिगत काम भएका छन्, अधिकांशमा मेरो सहभागिता छ । रमेश चन्द सा’बको पालामा त्यस्ता काम धेरै गरियो । युएनमा जाने प्रहरी कर्मचारीका लागि नीति बनाइयो । लेखापाल तालिममा छानिएपछि जो पनि लेखापाल भइहाल्ने कुराले विकृति ल्याएको थियो । हामीले कमर्श पढेको वा लेखा सहायक भएर लामो समय काम गरेकोले मात्र लेखापाल हुन पाइने नीति ल्यायौँ । मोबाइलमा सियुजी कलको व्यवस्था हुनुमा डिएसपी दिवस उदास र मेरै भूमिका छ । त्यसबाट देशभरका प्रहरीलाई एकैचोटि निःशुल्क ग्रुप म्यासेज पठाउन मिल्यो । अनुसन्धान मात्र हैन, नीतिगत व्यवस्था पनि धेरै गरियो । जनआस्था साप्ताहिकमा प्रकाशित नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीसंग अन्र्तवार्ताको सम्पादित अंश :-

  • सिआइबीमा रहँदा रणबहादुर बम र रानीबारी हत्याकाण्डको अनुसन्धानले तपाईंको नाम निक्कै चल्यो । त्यसअघि किन चलेन ?

– मैले लागुऔषध र अपराध महाशाखामा जति काम गरेको थिएँ, सिआइबीमा रहँदा त्यसको १० प्रतिशत पनि गरिनँ । लागुऔषधमा अन्तरदेशीय सञ्जाल पत्ता लगायाँै । हेर्नुस्, विदेशीले गर्ने लागुऔषध कारोबारमा थुप्रै नेपाली बाध्यताबस संलग्न छन् । उनीहरू विदेशी जेलमा छन् । कपिलदेव, असलमजस्ता संसारभरि खोजिएका कुख्यात लागुऔषध कारोबारीलाई हाम्रो देशमा पक्रियौँ । अपराध महाशाखामा हुँदा ०६७ चैत १० गते एउटा गोलीकाण्ड भयो, कालिमाटी, एक्साइड व्याट्रीको शोरुममा । त्यसको १५ दिनपछि भारतीयमूलका व्यापारी अञ्जनीकुमार चाचानको गणबहालस्थित पसलमै गोली प्रहरी भयो । हामीले घटना भएको झण्डै चार वर्षपछि भारतबाट अपराधीहरू जीरज केसी र सुनील महर्जनलाई समात्याँै । यो ग्रुपले त्यसअघि ठमेल, कपुरधारा, ठँहिटी, बसन्तपुर, वटुमा पनि गोली हानेको थियो । हामीले प्याट्रन स्टडी ग¥यौँ । प्रत्येक घटनामा ७ दशमलव ६५ एमएमको गोली हानिएको छ । ती कस्ता अपराधी रहेछन् भने, कोही मान्छेलाई लुट्नुप¥यो भने गोली हान्ने, मान्छे मार्ने र लुटेर भाग्ने ।

  • केन्द्रीय कारागारभित्रै युनिस अन्सारीमाथि गोली प्रहार गर्न खोजिँदा तपाईं अपराध महाशाखामै हुनुहुन्थ्यो नि !

-प्रहरी बेलामा चनाखो नभएको भए त्यसदिन सेन्ट्रल जेलमा रगतको खोला बग्नेवाला थियो ।  गोली प्रहार गर्न खोज्ने भारतीय नागरिक मनमित सिंह जेलमै छ । युनिस अन्सारी नक्कली भारुको कारोबारीसँगै कट्टरपन्थी मुजाहिद्दिनका कार्यकर्तालाई नेपालमा सेल्टर दिने व्यक्ति भन्ने कुरा खुलेको छ । शायद, त्यही समस्याका कारण कुनै आपराधिक गिरोह परिचालित भएको हुनुपर्छ ।

  • के साच्चिकै नेपाल देखिएको भन्दा बढी नै असुरक्षित छ ?

– असुरक्षित नै त नभनौँ, विभिन्न स्वार्थहरूको कारण यहाँ अपराध हुने गरेको छ । भित्र–भित्र जाँदा अझ गहिरो कुरा भेटिन्छ ।

  • अपराध जगतका अबका चुनौति के हुन् ?

– प्रविधिको प्रयोगबाट हुने अपराधले धेरैवटा जटिलता ल्याइसक्यो । सरकारले त्यसप्रकारका अपराध अनुसन्धान गर्न प्रहरीलाई कुनै किसिमको सहयोग गरेको छैन । प्रहरीले जे जति गरेको छ, आफ्नै स्रोत, साधन र क्षमताको प्रयोगबाट । राज्यको एक रुपैयाँ लगानी छैन । दक्ष प्राविधिक अनुसन्धानकर्ता उत्पादन नगर्ने हो भने भोलिका दिनमा यो देशकै सबभन्दा जटिल समस्याको रुपमा आउनसक्छ ।

  • प्रहरीमा समस्या के हो ?

– कतै प्रहरी तालिमकै क्रममा केही समस्या छ कि, जसले गर्दा चाहिएजस्तो जनशक्ति उत्पादन भइरहेका छैनन् । अर्को समस्या छ, सेलिब्रिटी बन्न खोज्ने † काम गर्नेहरु काम गरेको ग¥यै, सेलिब्रिटी बन्नेहरु फाइदा लिएको लियै । यो मिल्दो कुरा होइन । प्रहरीले सेलिब्रिटी बन्ने होइन । जिम्मेवारीअनुसारको काम गर्ने हो । काम गर्दा आफैँ एक्स्पोजर पाइन्छ । तर, त्यसलाई संगठनको हितमा प्रयोग गर्नुपर्छ, व्यक्तिगत हितमा होइन । तर, यो कुरा मान्नुस्, पुलिसमा नराम्राभन्दा राम्रा अफिसरको संख्या धेरै छ –

  • राजनीतिक हस्तक्षेप ?

    – जति भनिएको छ, त्यस्तो होइन । बरु, हाकिमहरुको प्रेसर बढी छ । केही मान्छे छन्, जो राजनीतिक हेराफेरीमै रमाउँछन् । त्यस्ता व्यक्ति त्यस्तै कुरामा लाग्ने भए । तर, मनमा म पुलिस हुँ भनेर कसैले भन्छ भने ऊ संगठनप्रति नै वफादार छ ।

जनआस्था साप्ताहिकमा प्रकाशित अन्र्तवार्ताको सम्पादित अंश 

Post Comment